रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारले मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणलाई लक्षित गर्दै ‘सुरक्षित मातृत्व अभियान’ विशेष अभियान सुरु गरेको छ ।
प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले आज रुपन्देही र नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलगायत सरोकारवालासँग अन्तर्क्रिया गरी अभियान बारेको अवधारणासहितको ढाँचा सार्वजनिक गरेको छ । साथै सरोकारवालाका सुझाव समेतलाई सङ्कलन गरी अभियानलाई थप प्रभावकारी बनाउने मन्त्रालयको लक्ष्य छ ।
विभिन्न स्थानीय तहका अधिकारी सहभागी रहेको कार्यक्रमले निःशुल्क प्रयोगशाला तथा युएसजी परीक्षण, सम्मानजनक सेवा प्रवद्र्धन र स्थानीय तहस्तरीय अनुगमनलाई एकीकृत ढङ्गले अघि बढाउने निचोड पनि निकालेको छ ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा गर्भवती जाँच (एएनसी) ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगेको छ । तर सुत्केरीपछिको जाँच (पीएनसी) ६६ प्रतिशतमा सीमित रहनु सेवाको निरन्तरतामा चुनौती देखिएको सङ्केत भएको जनाइएको छ । सार्वजनिक विवरणमा आर्थिक वर्ष २०८१/८२ मा ७९ हजार ५३६ संस्थागत सुत्केरी भएका छन् भने ७१४ घरमै सुत्केरी भएका छन् ।
यसैगरी, १०९ स्थानीय तहमध्ये ४८ ले शून्य घर सुत्केरी उपलब्धि हासिल गरे पनि ६१ स्थानीय तहमा घरमा सुत्केरी कायम रहनुले पहुँच र व्यवहार परिवर्तन दुवैमा थप काम आवश्यक रहेको देखिएको मन्त्रालयको भनाइ छ । प्रदेशको कुल प्रजनन दर ३.६ रहेको तथ्याङ्कले मातृ–नवजात स्वास्थ्य सेवामा थप सघन प्रयासको आवश्यकता औँल्याएको जनाइएको छ ।