गृहपृष्ठ Featured १० वर्षदेखि अलपत्र पुलको ठेकेदार रास्वपाका उम्मेदवार बनेपछि…

१० वर्षदेखि अलपत्र पुलको ठेकेदार रास्वपाका उम्मेदवार बनेपछि…

जनकपुरधाम : आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विकास र समृद्धिको नारासहित धनुषा–१ का उम्मेदवार किशोरी साह ‘कमल’ जनतासामु मत मागिरहेका छन्। उनले समृद्धि र विकासको नारासहित जनताको घरदैलोमा मत मागिरहँदा उनको कम्पनीले भने १० वर्षअघि कबोल गरेका निर्माण योजनाहरू अलपत्र छाडेका छन्।

धनुषाको जलाद नदीमा पुल सुरु भएको ९ वर्षभन्दा बढी भइसक्यो। दुई वर्षमै सकिने गरी छिरेश्वरनाथ नगरपालिका–७ र ९ तथा मिथिला मध्यमा परिक्रमा सडकअन्तर्गत जलाद खोलाको पुल निर्माण थालिएको हो। तर, पुल अलपत्र छ। धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको काम अलपत्र छाड्ने पुल निर्माणको ठेक्का पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ। जसको मालिक हुन् पूर्वजनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जनमत परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भएका किशोरी साह ‘कमल’ !

पुल बनाउने जिम्मा किशोरी साह ‘कमल’ को पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ। यो जोइन्ट भेन्चर कम्पनीका दुई साहुजीमध्ये उनी एक हुन्। मिथिलामध्यमा परिक्रमा सडकखण्डसँग जोडिएको जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुरलगायत दर्जनौं गाउँका बासिन्दा समस्या भोग्दै आएका छन्। वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको जनमत पार्टीका नेता अमृत महतो बताउँछन्। उनले भने, ‘पुल नबन्दा हरेक वर्ष वर्षायाममा नदीले बगाएर सर्वसाधारणले ज्यान गुमाउने गरेको र आउन जान सास्ती खेप्नु परेको छ।’

सडक डिभिजन कार्यालय जनकपुरका अनुसार २०७६ पुस १९ गते पुलको काम सम्पन्न गर्ने गरी २०७४ असार १९ गते ठेक्का दिइएको थियो। पुलको लम्बाइ १ सय २० मिटर र चौडाइ ११ मिटर छ। निर्माण कम्पनीले १२ करोड ३५ लाख ६३ हजार २ सय २४ रुपैयाँमा निर्माणको जिम्मा पाएको हो। ठेक्काको समयसीमा नाघेपछि २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो। म्याद थप गरिए पनि निर्माण कम्पनीले हालसम्म पुल निर्माणको कामलाई अगाडि बढाएको छैन।

यसैगरी काम सम्पन्न हुन नसक्दा २०८२ मसान्तसम्म तेस्रोपटक म्याद थप गरिएको डिभिजन कार्यालय जनकपुरका सीडीई दारोगा प्रसादले जानकारी दिए। पुल निर्माणको ठेक्का पाएको पप्पु कमल जेभी निर्माण कम्पनीका तत्कालीन समयका मालिक किशोरी साह ‘कमल’ थिए। उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेकपाबाट प्रदेशसभामा निर्वाचित भएका थिए। निर्वाचनअघि उनले आफ्नो नामको कम्पनी अन्य व्यक्तिको नाममा स्थानान्तरण गरेका थिए। हाल जलाद खोला पुलको अख्तियारी सञ्जीव साह भन्ने नातेदारलाई अख्तियारी दिएर काम गराइरहेका छन्।

सम्बन्धित् समाचार