वाणगंगा ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णबहादुर कुँवरले आफू नजिते क्षेत्रले नै हार्ने दाबी गरेका छन् । उनले “म नजिते यो क्षेत्रले नै हार्छ” भन्दै चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन् ।
कुँवर यतिबेला चुनावी मैदानमा चर्चाको केन्द्रमा रहेका छन् । ‘वरिष्ठ समाजसेवी’को छवि बनाएका कुँवरलाई स्थानीय राजनीतिज्ञ, बुद्धिजीवी तथा व्यवसायीहरूले सबैभन्दा अब्बल उम्मेदवारका रूपमा लिने गरेका छन् ।
यस क्षेत्रमा एमालेका विश्राम प्रसाद थारु, काँग्रेसका अतहर कमाल मुसलमान, नेकपाका कृष्णबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य र स्वतन्त्र उम्मेदवार आशिष शर्माबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
सोमबार कुँवरले आयोजना गरेको सामान्य र्यालीमा उल्लेख्य जनसहभागिता देखिएपछि चुनावी माहोल तातेको स्थानीयहरू बताउँछन् । संगठन कमजोर रहेको चर्चा भइरहेका बेला र्यालीमा देखिएको सहभागिताले अन्य दलहरूलाई समेत रणनीति बनाउन बाध्य बनाएको चर्चा छ ।
विभिन्न स्थानमा भएका छलफलहरूमा स्थानीयले कुँवरलाई भूगोल, समाज र राजनीतिक सोच बुझ्ने उम्मेदवार भन्दै समर्थन जनाएका छन् । केही बुद्धिजीवीहरूले पार्टीभन्दा माथि उठेर योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् ।
कुँवरले आफू निर्वाचित भए जनताको अपेक्षा अनुसार काम गर्ने, प्रतिबद्धता पूरा गर्ने र कहिल्यै भ्रष्टाचार नगर्ने बताएका छन् ।







