गृहपृष्ठ Featured विश्वकपमा कस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन ?

विश्वकपमा कस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन ?

तेस्रोपटक आईसीसी पुरुष टी– २० विश्वकपमा सहभागिता जनाएको नेपालले यसपटक पनि समूह चरण पार गर्न सकेन । नेपाल सन् २०१४ र २०२४ मा पनि समूह चरणमै सीमित बनेको थियो ।

सुरुवाती तीन खेलमा हार व्यहोरेको नेपालले अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्यो । यो विश्वकपका नेपालले १२ वर्ष निकालेको जित हो ।

सुपर– ८ मा पुग्ने लक्ष्य राखे पनि सुरुवाती खेलमा लगातार हारले त्यो लक्ष्य पूरा हुन सकेन । यस विश्वकपमा १५ सदस्यमध्ये १४ खेलाडीले खेल्ने अवसर पाए । आरिफ शेख, शेर मल्ल, ललित राजवंशी, लोकेश बम र नन्दन यादवले टी– २० विश्वकपमा डेब्यु गर्ने अवसर पाए ।

विश्वकपमा दीपेन्द्रसिंह ऐरी, नन्दन यादव, सोमपाल कामीजस्ता खेलाडीको प्रदर्शन उच्च रह्यो । कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, करण केसीजस्ता खेलाडीको प्रदर्शन भने अपेक्षाअनुसारको हुन सकेन ।

अलराउन्डर बसिर अहमद यो विश्वकपमा मौका नपाउने एक मात्रै खेलाडी रहे ।

यस्तो रह्यो टी– २० विश्वकपमा नेपाली खेलाडीको प्रदर्शन :

रोहितकुमार पौडेल

रोहितकुमार पौडेको कप्तानीमा नेपालले लगातार दोस्रोपटक टी– २० विश्वकप खेल्यो । विश्वकपमा उनको व्यक्तिगत प्रदर्शन भने राम्रो हुन सकेन ।

उनको कप्तानीमा नेपालले लगातार ६ खेलमा हार व्यहोरेको थियो । उनले नेपालका लागि टी– २० विश्वकपमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने कीर्तिमान बनाए । स्कटल्यान्डसँगको जितले भने रोहितलाई केही राहत दिएको छ ।

कप्तान रोहितको ब्याटबाट रन निस्कन सकिरहेको छैन । उनले चार खेलमा ८३ रन बनाए । उनले इंग्ल्यान्डविरुद्ध ३९, इटालीविरुद्ध २३, वेस्ट इन्डिजविरुद्ध ५ र स्कटल्यान्डविरुद्ध १६ रन बनाए ।

रोहितले स्कटल्यान्डविरुद्ध भने बलिङ गर्दै २ ओभरमा १२ रन खर्चेर १ विकेट लिए । स्कटल्यान्डले आक्रमक सुरुवात गरेपछि रोहितले आफैँ बलिङमा आएर ब्रेक थ्रु दिलाएका थिए ।

दीपेन्द्रसिंह ऐरी

उपकप्तान दीपेन्द्रसिंह ऐरीका लागि भने यो विश्वकप केही सम्झनलायक बन्यो । उनले नम्बर ४ मा आएर उत्कृष्ट ब्याटिङ गरे ।

वेस्ट इन्डिजविरुद्ध उनले बनाएको ५८ रन विश्वकपमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर हो । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा टी– २० विश्वकपमा डेब्यु गर्दा ओपनर सुवास खकुरेलले ५६ रन बनाएका थिए ।

दीपेन्द्र टी– २० विश्वकपमा नेपालबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले ४ खेलमा २ अर्धशतकसहित १६९ रन बनाए । दीपेन्द्रले इंग्ल्यान्डविरुद्ध ४४, इटालीविरुद्ध १७, वेस्ट इन्डिजविरुद्ध ५८ र स्कटल्यान्डविरुद्ध अविजित ५० रन बनाए । यसैगरी दीपेन्द्रले चार खेलमा २ विकेट पनि लिए । दुवै विकेट इंग्ल्यान्डविरुद्ध थियो ।

कुशल भुर्तेल

ओपनर कुशल भुर्तेलका लागि यो विश्वकप खासै सम्झनलायक रहेन । उनले चार खेलमा ७८ रन मात्र बनाए । इंग्ल्यान्डविरुद्ध २९ रन बनाएका कुशलले इटालीविरुद्ध ५ र वेस्ट इन्डिजविरुद्ध १ रन जोडे । उनले स्कटल्यान्डविरुद्धको खेलमा ४३ रन बनाए ।

आसिफ शेख

अर्का ओपनर आसिफ शेखको प्रदर्शन पनि राम्रो रहन सकेन । उनले चार खेलमा ७१ रन जोडे । उनले इंग्ल्याविरुद्ध ७, इटालीविरुद्ध २०, वेस्ट इन्डिजविरुद्ध ११ र स्कटल्यान्डविरुद्ध ३३ रन जोडे ।

विकेट किपरका रूपमा पनि आसिफ खासै प्रभावकारी देखिएनन् । उनले इंग्ल्यान्ड र स्कटल्यान्डविरुद्ध १–१ क्याच मात्र गरे ।

लोकेश बम

टी– २० विश्वकपमा डेब्यु गरेका लोकेश बमले पहिलो खेलमै इंग्ल्यान्डविरुद्ध आक्रमक ब्याटिङ गरे । त्यसपछिका खेलमा भने उनी चल्न सकेनन् । लोकेशले प्रतियोगितामा चारै खेलमा मौका पाउँदा ५५ रन बनाए ।

लोकेशले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध अविजित ३९ रन बनाउँदै सबैको प्रशंसा पाएका थिए । यसैगरी, उनी इटालीविरुद्ध ३ र वेस्ट इन्डिजविरुद्ध १३ रनमा पभेलियन फर्किए । लोकशले स्कटल्यान्डविरुद्धको खेलमा भने ब्याटिङ गरेनन् ।

गुल्सनकुमार झा

गुल्सनकुमार झाबाट अपेक्षाअनुसारको प्रदर्शन हुन सकेन । चारै खेलमा मौका पाएका गुल्सनले ३९ रन बनाए । उनले बलिङको मौका नै पाएनन् ।

गुल्सन इंग्ल्यान्डविरुद्ध ३, इटालीविरुद्ध १ र वेस्ट इन्डिजविरुद्ध ११ रनमा पभेलियन फर्किएका थिए । स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका उनले अविजित २४ रन जोडे ।

आरिफ शेख

पहिलोपटक टी– २० विश्वकपमा सहभागिता जनाएका आरिफ शेखले ४ खेलमा ३९ रन बनाए । इंग्ल्यान्डविरुद्ध १० रनमा पभेलियन फर्किएका उनले इटालीविरुद्ध २७ र वेस्ट इन्डिजविरुद्ध २ रन जोडे । आसिफले स्कटल्यान्डविरुद्धको खेलमा भने ब्याटिङको मौका पाएनन् ।

सन्दीप लामिछाने

स्पिनर सन्दीप लामिछानेलेबाट पनि ठूलो अपेक्षा गरिएको थियो । तर, मुम्बईको वानखेडे रंगशालामा सन्दीपको प्रदर्शन फिका रह्यो । उनले चार खेलमा मात्र १ विकेट हासिल गरे । त्यो विकेट इंग्ल्यान्डविरुद्ध थियो । सन्दीपले इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डविरुद्ध विकेट लिन सकेनन् ।

नन्दन यादव

तीव्र गतिका बलर नन्दन यादवले पहिलोपटक टी– २० विश्वकप खेलेका हुन् । विश्वकपको पहिलो संस्करणमै उने राम्रो प्रभाव छोडेका छन् । उनले चार खेलमा ५ विकेट हात पारे ।

इङ्ल्यान्ड र स्कटल्यान्डविरुद्ध २–२ विकेट लिएका नन्दनले वेस्ट इन्डिजविरुद्ध १ विकेट हात पारे । इटालीविरुद्ध भने उनी विकेटविहीन बने ।

करण केसी

अनुभवी तीव्र गतिका करण केसीको लागि टी– २० विश्वकप बिर्सनलायक रह्यो । तीन खेल खेलेका उनी विकेटविहीन रहे । यसपटक उनले ३ खेलमा २० रन बनाए । करणले इंग्ल्यान्डविरुद्ध १, इटालीविरुद्ध १८ र वेस्ट इन्डिजविरुद्ध १ रन जोडे ।

करणले सन् २०२४ को विश्वकपका पनि दुई खेल खेल्दा विकेट लिन सकेका थिइएन् ।

सोमपाल कामी

नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामीले तेस्रोपटक टी– २० विश्वकप खेल्दै कीर्तिमान बनाए । वेस्ट इन्डिजविरुद्ध मैदान उत्रिँदै तीव्र गतिका बलर सोमपालले तीन विश्वकप खेल्ने कीर्तिमान बनाएका हुन् ।

यो विश्वकपमा दुई खेलमा मौका पाएका सोमपालले ३ विकेट लिनुका साथै २६ रन जोडे । वेस्ट इन्डिविरुद्ध २६ रन बनाएका सोमपालले विकेट भने हात पार्न सकेनन् । यसैगरी, स्कटल्यान्डविरुद्ध ३ विकेट लिएका उनले ब्याटिङको मौका पाएनन् ।

ललित राजवंशी

स्पिनर ललितले यसपटक टी– २० विश्वकपमा एक खेल मात्र खेल्ने अवसर पाए । इटलीविरुद्धको खेलबाट उनले टी– २० विश्वकपमा डेब्यु गरेका थिए । तर, उनका लागि त्यो सुखद रहेन । उनले १ ओभर मात्र बलिङ गर्दा १९ रन खर्चिएर विकेटविहीन बने । सन् २०२४ को विश्वकप खेल्ने टोलीमा रहे पनि उनले अवसर पाएका थिएनन्  ।

शेर मल्ल

स्पिनर शेर मल्लले यही विश्वकपमार्फत नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । इंग्ल्याडविरुद्ध पहिलो खेल खेलेका शेरले पहिलो बलमै विकेट लिएर चर्चा कमाएका थिए ।

उक्त खेलमा उनले ३ ओभरमा ३५ रन खर्चिएर १ विकेट हात पारेका थिए । शेरले त्यसपछिका तीन खेलमा भने मौका पाएनन् ।

सन्दीप जोरा

ब्याटर सन्दीप जोरा लगातार दोस्रोपटक टी– २० विश्वकप खेल्दै टिममा परेका थिए । तर, उनले यसपटक पनि १ खेलमा मात्रै मौका पाए । सन् २०२४ मा पनि सन्दीपले १ खेल मात्र खेल्न पाएका थिए ।

सुरुवाती ३ खेल गुमाएका सन्दीपलाई स्कटल्यान्डविरुद्धको खेलमा मैदान उतारिएको थियो । स्कटल्यान्डविरुद्ध २ क्याच लिएका उनले ब्याटिङमा मौका भने पाएनन् ।

सम्बन्धित् समाचार