अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन्।
वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा ठोस सम्झौता गर्न अल्टिमेटम दिएका हुन्।
अन्यथा इरानले अत्यन्त खराब परिणाम भोग्नुपर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
‘१०/१५ दिन पर्याप्त हुन्छ। यो समयभित्र सम्झौतामा नआए तेहरानले धेरै खराब परिणाम ब्यहोर्नुपर्नेछ,’ ट्रम्पले भने।
कुटनीतिक तवरबाटै विवाद समाधानका लागि अमेरिकाले इरानसँग स्वीट्जरल्याण्डको जेनेभामा वार्ता गरेको थियो।
वार्ता सकारात्मक भएको भनेर इरानले भने पनि अमेरिकाले भने कुनै पनि विषयमा ठोस सहमति नभएको बताएको छ।
इरानले सम्झौताका लागि अर्को मस्यौदा तयार गर्न १५ दिनको समय मागेको छ। जेनेभाको वार्ताअघि इरान र अमेरिकाबीच ओमानको मस्कटमा छलफल भएको थियो।








