२१ फागुनको चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । प्रचारका क्रममा आचारसंहिता उल्लंघनका घटनाहरू पनि सार्वजनिक भइरहेका छन् । प्रतिस्पर्धी पार्टीको झण्डा जलाउनेदेखि पार्टी कार्यालयमा तोडफोडसम्मका घटना भएका छन् ।
७ फागुनमा दाङको तुलसीपुर उपमहानगरपालिका– ५, वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाइएको थियो । रास्वपाका कार्यकर्ताले झण्डा जलाएको भन्दै एमाले कार्यकर्ताले रास्वपाको सम्पर्क कार्यालय तोडफोड गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्नअंकित झण्डा जलाएपछि रास्वपाले चुनाव भाँड्ने काम गरेको आरोप लगाए ।
९ फागुनमा आफ्नो निर्वाचन क्षेत्र झापा– ५ मा उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने र वातावरण बिगार्ने खेल सुरु गरेको छ ।’
ओलीले यस्ता क्रियाकलापलाई लोकतन्त्रविरोधी र अराजनीतिक चरित्रको संज्ञा दिए । ‘आफूले जिते मात्र चुनाव हुन दिने र नजित्ने अवस्था बुझेपछि भाँड्न खोज्ने प्रवृत्ति खतरनाक देखिएको छ,’ उनले भने, ‘शान्तिपूर्ण रूपमा चुनावको वातावरण बनाउन आग्रह गर्दछु ।’
घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने रास्वपाले यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । तर, निर्वाचन आयोगले सो विषयमा रास्वपालाई स्पष्टीकरण सोधेको छ ।
आयोगले चुनाव प्रचारप्रसारमा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइने नियम बनाएको छ । तर, सोको पालना भने भएको छैन । आयोग कारबाहीको प्रक्रियामा जान उजुरीको पर्खाइमा छ ।
त्यस्तै, बारा निजगढकी सुबु धितालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तारा चुनाव चिह्नअंकित झण्डा च्यातेर, थुकेर, जुत्ता पुछेकी थिइन् । सामाजिक सञ्जालमा विरोध भएपछि उनले राजनीतिक चेत नभएको र लहैलहैमा सो काम गरेको भनेर माफी मागिन् ।
जन्ती जाने क्रममा साथीहरूको लहैलहैमा लागेर तारा चुनाव चिह्नअंकित झण्डाको अपमान गरेको उनको प्रस्टीकरण छ । ‘हामी विवाहमा जन्ती जाने क्रममा साथीभाइको लहैलहैमा लागेर ताराअंकित झण्डाको अपमान हुने गरी भिडियो बनाएको कार्यप्रति क्षमायाचना गर्दछु,’ उनले भनेकी छिन् ।
राजनीतिक चेतनाको अभावका कारण आफूबाट गल्ती हुन भएको स्वीकार्दै उनले भनेकी छन्, ‘कुनै राजनीतिक चेतना नभएको हामीजस्ता जेन–जीहरूले सबै दलप्रति सम्मान गर्नुपर्छ । साथै, कसैले पनि यस्तो कार्य नगर्न अनुरोध गर्दछु ।’
अर्का कन्टेन्ट क्रिएटर मलिक जीले पनि एमालेको चुनाव चिह्नअंकित झण्डा जलाएका छन् । उनले सूर्यअंकित झण्डा जलाउँदै एमालेको ‘सै पनि एमाले मै पनि एमाले’ गीतलाई बिगारेर भोट घण्टीमा भन्ने गीत बनाएका छन् ।
मधेश प्रदेशमा एक भिडियो भाइरल बनेको छ, जहाँ बालिकाको समेत दुरुपयोग भएको छ । बिजुलीको पोलमा रहेको कांग्रेसको झण्डा निकालेर तीन जना बालकलाई पिसाब फेर्न लगाइएको छ र इफेक्टबाट आवाज बिगारेर बालकहरूलाई भन्न लगाइएको छ, ‘जय बालेन सरकार, जय घण्टी ।’
अर्को भिडियो पनि सामाजिक सञ्जालमा देखिन्छ, जहाँ रास्वपाको चुनाव चिह्न घण्टी र नेसनल मंगोल अर्गनाइजेसनको चुनाव चिह्न (कुखुराको भाले) अंकित झण्डा छ । हेल्मेट लगाएका एक युवकले मंगोल पार्टीको झण्डा झिकेर च्यात्छन् र भुईंमा बजार्दै लात्तीले हान्छन् ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल आफ्ना समर्थकले कानुनको बर्खिलापका काम गरेका भए कानुनी दायरामा सम्बन्धित निकायले ल्याउनुपर्ने र त्यसमा सघाउन रास्वपा तयार रहेको बताउँछिन् । ‘हाम्रा समर्थक हुन् वा अरु जोकोही हुन्, उनीहरूमाथि कानुनसम्मत कारबाही हुनुपर्छ । हाम्रो पार्टी सभापतिले समेत भनिसक्नुभएको छ, रास्वपा भए पनि कारबाही हुनुपर्छ, हाम्रो औपचारिक धारणा नै यही हो,’ रावलले भनिन्, ‘हाम्रा समर्थकलाई संयमित हुन आग्रह गर्दछु । रास्वपा अनुशासित र संयमित पार्टी भएर छोटो समयमा यहाँसम्मको उचाइ हासिल गरेको हो ।’
एमाले अध्यक्ष ओलीको टिप्पणीप्रति भने रावल असहमत छिन् । रास्वपा जिम्मेवार दल भएकाले चुनाव भाँड्न कुनै काम नगरेको रावलले बताइन् । ‘घुसपैठ भएको पुष्टि भएको छ । हाम्रा होइनन् । उत्कृष्ट नतिजा ल्याउने रास्वपा हो । हामी चुनाव बिथोल्ने काम गर्दैनौँ । छोटो समय भए पनि हामी परिपक्व भएका छौँ । आरोप पनि हामीले निर्वाचन बिगार्न खोजेको आरोप छ, यो हास्यास्पद छ,’ रावलले भनिन् ।
निर्वाचन आयोगले भने सम्बन्धित निकायबाट कारबाहीका लागि जानकारी आएमा प्रक्रियामा जाने बताएको छ ।









