नवलपरासी ।
पानी नपर्दाको समयमा धुलोले कुहिरिमण्डल र पानी पर्दा सवारी चिप्लिएर बाटो नै बन्द, पूर्व पश्चिम राजमार्गमा बस्ने नारायणगढ बुटवल सडक खण्डबाट पार गर्ने र यसको छेउमा बस्ने मानिसहरूको नियति नै भइसकेको छ।
कुल ११४ किलोमिटरको यो सडकलाई नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर (पूर्वी खण्ड) र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर (पश्चिम खण्ड) गरी दुई प्याकेजमा विभाजन गरेर निर्माण कार्य २०७५ देखि नै सुरु भएको भए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन।
निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा अझै पनि यो सडक खण्डको करिब ३० किलोमिटर सडक कहिलेसम्म बनिसक्छ भन्ने टुङ्गो छैन । अझ रोड मार्किङ्का कामहरु पनि बाँकी नै छ । आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डको भौतिक प्रगति ८० प्रतिशत र पश्चिम खण्डको ७७ प्रतिशत पुगेको छ ।
एसियाली विकास बैंक (एडीबी) को १६ अर्ब ९९ करोड ऋण सहयोगमा सञ्चालित यस आयोजना २०७५ सालदेखि चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निर्माण सुरु गरेको भए पनि समयमा सकाउन सकेको छैन ।
अहिलेसम्म तीन पटक म्याद थपेर २०८३ साउनसम्म आयोजना सम्पन्न गर्न पर्ने सीमा रहेपनि समयमै सकिन्छ कि सकिन्न भन्ने संशय अझै बाँकी नै छ । सडक विस्तार पछि यो सडक खण्ड ७० किमि चार लेन, २९ किमि ६ लेनसहितको सर्भिस लेन र दाउन्ने खण्डको १४ किलोमिटर मा तीन लेनको हुनेछ ।
आयोजनाले अहिले पनि पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) को काम तीव्र गतिमा भइरहेको दाबी गरेपनि भौतिक प्रगति करिब ८० प्रतिशत मात्रै पुगेको छ ।