राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भौतिक संरचनाको क्षति पूर्ति गर्न सकिने भए पनि मानवीय क्षतिको भर्पाई असम्भव हुने बताएका छन्। गोरखा सदरमुकाममा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ‘जेनजी’ आन्दोलनका क्रममा भएको क्षतिप्रति लक्षित गर्दै यस्तो धारणा राखेका हुन्।
गत पुस महिनामा सुशासन कायम गर्न माग राख्दै युवाले गरेको ‘जेनजी’ आन्दोलनले उग्र रूप लिँदा देशका विभिन्न भागमा झडप भएका थिए। ७७ जनाको ज्यान गएको थियो भने ऐतिहासिक धरोहर सिंहदरबार जलाइएको थियो।
सभापति लामिछानेले आन्दोलनका क्रममा पहिले राज्यका तर्फबाट गोली चलाइएकाले मात्र परिस्थिति भड्किएको दाबी गरे। “यहाँ कसैले भ्रम फैलाएका छन्— सिंहदरबार जलायो, विध्वंस गर्यो भनेर तर यदि गोली नचलेको भए केही पनि जल्ने थिएन,” उनले भने, “जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन। रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन। सिंहदरबार त हामी पुनः निर्माण गरिहाल्छौँ नि।”
उनले सरकारी संरचना जलेकोमा आफूहरूले गौरव नगरेको प्रस्ट पार्दै नागरिकको जीवन रक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।








