गृहपृष्ठ Featured विष्णु पौडेलले भने- सेटिङमा आएका सर्वेक्षण तथ्यपरक छैनन्

विष्णु पौडेलले भने- सेटिङमा आएका सर्वेक्षण तथ्यपरक छैनन्

१४ फागुन, बुटवल ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक मत सर्वेक्षण गलत मनसायबाट आएको बताएका छन् ।

बुटवलमा बिहीबार पत्रकारहरूसँगको अन्तरसंवादमा उनले रुपन्देही क्षेत्र नं २ सहित देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा योजनाबद्ध रूपमा आएका सर्वेक्षण गलत भएको दाबी गरे ।

स्वदेशी तथा विदेशी संस्थाहरूले गरेको वास्तविक सर्वेक्षण केही दिनमा आउने उनको भनाइ छ ।

‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् । तर ती वास्तविक र तथ्यपरक होइनन् । फिल्डको अवस्था धेरै फरक छ । ती प्रक्षेपणहरू फेल खानेछन्,’ रुपन्देही २ का एमाले उम्मेदवार समेत रहेका पौडेलले भने, ‘त्यस्ता प्रक्षेपण आचार संहिता विपरीत हुन् । तर सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला तर भरपर्दो राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रमहरू छैनन् ।’

एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको हुँदा ठूलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने उनको जिकिर छ ।

सम्बन्धित् समाचार