रुपन्देही-२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गरेको छ।
रुपन्देही २ मा उम्मेदवारी नदिएको राप्रपाले देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा कांग्रेससँग एजेन्डा नजिक भएको भन्दै पौडेललाई समर्थन गर्ने निर्णय भएको हो।
राप्रपाका रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार पौडेललाई मत दिने आह्वान गरेका छन्।
‘अहिले यस निर्वाचनमा हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भए पनि देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को संगठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्दामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवजी एवम् उद्योगी चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ति र आम जनसमुदायमा जानकारी गराउँदछौँ,’ राप्रपाको विज्ञप्तिमा भनिएको छ।
गत निर्वाचनमा राप्रपाले रुपन्देही २ मा समानुपातिकतर्फ ५ हजार ६०० मत ल्याएको थियो।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गरेपछि चुनावी माहोल रोचक बनेको छ।
गत निर्वाचनमा यहाँ एमाले र रास्वपाका उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा भएको थियो।
गत निर्वाचनमा गठबन्धन गरेका कांग्रेस, तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीको उम्मेदवार थिए।
गठबन्धनका साझा उम्मेदवारको उम्मेदवारी खारेज भएपछि रुपन्देही २ मा एमाले र रास्वपाबिच कडा प्रतिस्पर्धा भएको थियो।
राप्रपाको समर्थन पाएपछि कांग्रेस पनि प्रतिस्पर्धामा आउने आकलन गरिएको छ।








