नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक दुई प्रकारका ‘अतिवाद’ को गम्भीर खतरासँग जुधिरहेको बताएका छन्। आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा शनिबार भिडियो सन्देशमार्फत विशेष सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
उनले एकातिर जनताको आक्रोश र निराशालाई भड्काएर अराजकतातिर धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–बिचौलियाको स्वार्थमा टिकेको यथास्थितिवाद देशका लागि चुनौती बनेको उल्लेख गरे। सडक र सदनबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएकाले कुशासनका कारण देश अराजकताउन्मुख बनेको दाहालको आरोप छ।
दाहालले भनेका छन्, “यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै हो। त्यसैले सम्पूर्ण वाम जनमत एकताबद्ध हुन आवश्यक छ।” उनले नेकपा (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्रका रूपमा पुनर्गठित आफ्नै पार्टी (नेकपा) मा मिसिनुपर्ने दाबी गरे।








