राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । यस्तो चेतावनी उसले आफ्ना पार्टीका नेता/कार्यकर्ताहरूलाई दिएको हो ।
यसअघि राप्रपा रुपन्देही-२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति निकालेर कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताएका थिए ।
जिल्ला अध्यक्ष सागरप्रताप राणाले भने थापाले जारी गरेको विज्ञप्तिको खण्डन गर्ने पार्टीको तर्फबाट कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कुनै निर्णय नभएको बताएका थिए ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले क्षेत्रीय अध्यक्ष थापाको निर्णयमा आफ्नो समर्थन रहेको अनलाइनखबरसँगको अन्तर्वार्तामा बताएका थिए ।
क्षेत्रीय अध्यक्ष थापाले गरेको निर्णय प्रति असहमति जनाउँदै उनलाई निलम्बन नै गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
‘रुपन्देही क्षेत्र नं २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरुमा कुनै सत्यता छैन,’ श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन ।’
अन्यथा सहयोगद गरेको अवस्थामा कारबाही हुन सक्ने चेतावनी दिइएको हो ।