गृहपृष्ठ Featured मौन अवधि सुरु, सबैखाले प्रचार बन्द

मौन अवधि सुरु, सबैखाले प्रचार बन्द

काठमाडौँ — प्रतिनिधिसभा सदस्य छान्न बिहीबार हुने निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम हुने मौन अवधिमा प्रचार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन ।

मौन अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी क्रियाकलाप गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरेको भेटिए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कारबाही हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । ‘निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ,’ उनले भने ।

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोऊन् भनेर मतदानको ४८ घण्टाअघिदेखि मौन अवधि लागू गरिएको हो । मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाउन लगाउनेछ । आयोगले तोकेको कार्यतालिकाअनुसार ६ माघमा उम्मेदवारी दर्ता गराएका दलहरूले ४ फागुनदेखि प्रचारप्रसार गरी मत माग्दै आएका थिए

सम्बन्धित् समाचार