गृहपृष्ठ Featured बङ्गलादेशले ११ वर्षपछि जित्याे पाकिस्तानसँगकाे एकदिवसीय शृङ्खला

बङ्गलादेशले ११ वर्षपछि जित्याे पाकिस्तानसँगकाे एकदिवसीय शृङ्खला

काठमाण्डाै – पाकिस्तानसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेको छ । ढाकामा हिजो भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ११ रनले हराउँदै बङ्गलादेशले २–१ ले शृङ्खला जितेको हो ।

बङ्गलादेशले दिएको २९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २७९ मात्र बनाउन सक्यो । पाकिस्तानका सलमान अली आगाले ९८ बलमा १०६ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । बङ्गलादेशका तास्किन अहमदले ४ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो । बङ्गलादेशका तन्जिद हसन तमिमले १०७ रन बनाए । पाकिस्तानका हरिस रउफले ३ विकेट लिए ।

शृङ्खलाको पहिलो खेल बङ्गलादेशले ८ विकेटले जितेको थियो भने दोस्रो खेलमा पाकिस्तान डकवर्थ लुइस नियमका आधारमा १२८ रनले विजयी भएको थियो ।

बङ्गलादेशले ११ वर्षपछि पाकिस्तानसँगकाे एकदिवसीय शृङ्खला जितेकाे हाे । यसअघि सन् २०१५ मा पाकिस्तानसँगकाे तीन खेलकाे एकदिवसीय शृङ्खलामा बङ्गलादेशले क्लिन स्वीप गरेकाे थियाे ।

सम्बन्धित् समाचार