गृहपृष्ठ खबर बाणगंगामा सातौं मेयर कप सुरु : वडा नं. १० लाई हराउँदै वडा नं. ३ ले रच्यो ईतिहास

बाणगंगामा सातौं मेयर कप सुरु : वडा नं. १० लाई हराउँदै वडा नं. ३ ले रच्यो ईतिहास

सागर वि.क./ वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा सातौं मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता बिहीबार चार नम्बर जीतपुरस्थित बुद्ध रंगशालामा औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगालाई खेलकुदको उर्बरभूमिका रूपमा विकास गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताउनुभयो। खेल पूर्वाधार निर्माण र खेलाडी विकासका लागि प्रत्येक वर्ष उल्लेख्य बजेट विनियोजन हुँदै आएको उहाँको भनाइ छ ।

उद्घाटन खेलमा वडा नं. ३ ले वडा नं. १० लाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो । छैठौं मेयरकपसम्म एउटा पनि जित निकाल्न नसकेको वडा नं.३ ले यो जितसंगै ईतिहास रचेको छ ।

खेलको सुरुवातमै वडा नं. १० का रोहन विकले गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो हाफमा वडा नं. ३ का गिरमान सिंजालीले बराबरी गोल फर्काएका थिए। उत्कृष्ट प्रदर्शनका लागि सिंजाली ‘म्यान अफ द म्याच’ घोषित भए ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रोशन घिमिरेका अनुसार शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १२ बजे वडा नं. ६ र ७ बीच हुनेछ भने दोस्रो खेल दिउँसो २ बजे वडा नं. ८ र ९ बीच प्रतिस्पर्धा हुनेछ ।

बिहीबारदेखि सुरु भएको प्रतियोगिता आगामी चैत १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै, सेमिफाइनलमा पुग्ने प्रत्येक टोलीले ३५/३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार