गुल्मी — जिल्लाकाे गुल्मीदरबार गाउँपालिका-४ वीरवास मिसुकामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । लु १ च ४९०६ नम्बरको बलेरो पिकअप जिप आइतबार दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । स्थानीय ४० वर्षीया जमुना ढेंगा, ४५ वर्षीया सुमित्रा ढेंगा, ३६ वर्षीया पार्वती ढेंगा, ४४ वर्षीया खगी ढेंगा, ३० वर्षीया पम्फा ढेंगा, ३३ वर्षीया कुमारी पुन, २४ वर्षीया निर्मला ढेंगा, ३ वर्षीया चाया ढेंगा, ३१ वर्षीया माया ढेंगा, ४० वर्षीया जमुना ढेंगा र ५५ वर्षीया नैना ढेंगा घाइते भएका छन् ।
ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप अचानक घरमा गएर ठाेक्किएकाे थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।







