वैखरी अनलाइन, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राहदानी (पासपोर्ट) वितरणलाई थप सहज बनाउन हुलाक सेवा मार्फत घरमै पु¥याउने व्यवस्था सुरु गरेको जनाएको छ।
कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको निर्णयअनुसार प्रशासनिक सुधार कार्यक्रम अन्तर्गत उक्त व्यवस्था लागू गरिएको जनाएको हो। यस व्यवस्था अनुसार राहदानी विभागबाट प्राप्त भइसकेका राहदानीहरू अब सेवाग्राहीको घर ठेगानामै पु¥याइनेछ।
कार्यालयका अनुसार २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी सेवाग्राहीले आफ्नो राहदानी हुलाक सेवामार्फत प्राप्त गर्न सक्नेछन्। यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गर्नुका साथै समय र खर्चको बचत हुने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले यस कदमले सेवा प्रवाहलाई थप व्यवस्थित, छरितो र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गरेको छ।
सूचनामा सेवाग्राहीलाई यस सेवाबाट लाभ लिन आग्रह गरिएको छ।






