सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु उद्योग वाणिज्य संघले कर शिक्षा, अन्तरक्रिया तथा क्यालेण्डर विमोचन कार्यक्रम एकैदिन सम्पन्न गरेको छ । संघले शनिबार चारनम्बरस्थित आफ्नै सभाहलमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमबारे जानकारी दिँदै महासचिव नवदत्त घिमिरेले व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले विगतदेखि सञ्चालन हुँदै आएको क्यालेण्डर विमोचन परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको बताउनुभयो ।

उहाँका अनुसार व्यवसायीहरुलाई करसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै व्यवसायमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले कर शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय कृष्णनगरका कर अधिकृत रामकृष्ण श्रेष्ठले यस क्षेत्रका व्यवसायीहरुलाई करसम्बन्धी व्यवहारिक ज्ञान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले कर प्रणालीलाई सही रूपमा बुझेर पालना गर्न सके व्यवसाय सञ्चालन सहज हुने बताउँदै राज्यप्रति व्यवसायीको दायित्व पूरा गर्नु सबैको कर्तव्य भएको धारणा राख्नुभयो । साथै श्रेष्ठले कार्यक्रममा कर शिक्षा सम्बन्धी प्रशिक्षण समेत दिँदै करका विभिन्न पक्ष, दायित्व तथा कानुनी व्यवस्थाबारे सहभागी व्यवसायीहरुलाई जानकारी गराउनुभएको थियो ।

संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यस्ता कार्यक्रमले स्थानीय व्यवसायीहरुलाई कर सम्बन्धी स्पष्ट जानकारी दिनुका साथै व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कर प्रणालीबारे सही जानकारी अभावकै कारण धेरै व्यवसायी अन्योलमा पर्ने गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले त्यसलाई हटाउन सहयोग पुग्ने बताउनुभयो ।
अध्यक्ष क्षेत्रीले व्यवसाय प्रवर्द्धनका लागि राज्यका निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको औँल्याउँदै यस कार्यक्रममार्फत व्यवसायी र सरोकारवाला निकायबीच प्रभावकारी अन्तरक्रिया हुने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष उमानाथ पौडेल, यज्ञ प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा व्यवसायीहरुको सक्रिय सहभागिता रहेको थियो ।








