गृहपृष्ठ Featured ‘सरकारले उनको फिल्म रोकिदियो, उनी आफैँ सरकार बने’

‘सरकारले उनको फिल्म रोकिदियो, उनी आफैँ सरकार बने’

उनलाई प्रशंसकहरूले सुरुमा दिएको नाम थियो, ‘इलैया थालापति’ अर्थात् युवा कमान्डर। करिब एक दशकअघि उमेर पाक्दै जान थालेपछि उनको त्यो नाम बदलियो। प्रशंसकहरूले उनलाई ‘थालापति’ अर्थात् कमान्डर भन्न थाले। र, यसपालि भारतको चुनावी इतिहासमै आफ्नो पार्टीलाई आश्चर्यजनक डेब्यु गराएपछि अन्ततः उनको यो नामले सार्थकता पाएको छ।

४ मे २०२६ मा भारतका पाँच राज्यका चुनावी नतिजा सार्वजनिक हुँदा तमिलनाडुमा ५१ वर्षीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले ठूलै सुनामी ल्याइदिए। उनको तमिलागा वेत्री कजागम (टीभीके) पार्टीले १०८ सिट जितेको छ। आफ्नै पार्टीको मात्र बहुमत नपुगे पनि उनले बाहिरी समर्थन जुटाएर मुख्यमन्त्रीका लागि दाबी पेस गरिसकेका छन्। यससँगै ५९ वर्षपछि दुई द्रविडियन पार्टी डीएमके र एआईडीएमकेभन्दा अलग पार्टीले सरकार बनाउने भएको छ।

विजयको यो चमत्कारी जितलाई लिएर अनेक टिप्पणी भएका छन्। कलाकारिताबाट राजनीतिमा आएर आश्चर्यजनक जित निकालेको हुनाले नेपालमा कतिपयले उनको तुलना प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि गरेका छन्। तर, तमिलनाडुका हकमा सिने–स्टारले राजनीतिमा प्रभाव जमाउनु नौलो कुरा होइन।

एमजीआरले स्थापना गरेको एआईएडीएमकेले १९७७ को चुनाव जितेको थियो। र, एमजीआर मुख्यमन्त्री बनेका थिए। जयललिता र करुणानिधिले पनि उही बाटो समातेका थिए। १४० फिल्ममा देखिएकी जयललिता एआईएडीएमकेबाटै ६ पटक मुख्यमन्त्री बनिन्। करुणानिधि ५ पटक मुख्यमन्त्री बने। अहिले विजयले हराएका मुख्यमन्त्री स्टालिन उनै करुणानिधिका छोरा हुन्। स्टालिनका छोरा उदयनिधि स्टालिन पनि अभिनयबाट राजनीतिमा लागेका थिए, जो उपमुख्यमन्त्री पनि हुन्।

विजयको चुनावी जितपछि धेरैले सामाजिक सञ्जालमा रजनीकान्तले ‘गुमाएको मौका’ बारे टिप्पणी गरिरहेका छन्। दक्षिण भारतमै सबैभन्दा धेरै फ्यान भएका अभिनेता हुन रजनीकान्त। उनले आँट गरेको भए १९९६ को चुनावमा सहजै जित्ने दाबी धेरैले गरिरहेका छन्।

तमिलनाडुमा फिल्म स्टार राजनीतिमा छाउने पुरानो चलन भए पनि विजयको जितका केही रोचक पक्ष उल्लेखनीय छन्।

विजय २२ जुन १९७४ मा चेन्नईमा जन्मिएका हुन्। उनका पिता चन्द्रशेखर फिल्म निर्देशक र आमा शोभा गायिका थिए। त्यसैले बाल्यकालदेखि नै उनले सिनेमा खेल्न थालेका थिए। र, करिब ७० फिल्ममा प्रमुख पात्रकारूपमा अभिनय गरिसकेका छन्।

फिल्मलाई निरन्तरता दिन उनले बीएस्सीको पढाइ अधुरै छाडे। दशकौँसम्म फिल्मका माध्यमबाट उनको लोकप्रियता चुलियो।

राजनीतिप्रति उनको रुचि पहिलो पटक सन् २०१३ मा देखियो। त्यतिबेला हिट भएको फिल्म थलाइवाको ट्याग लाइन थियो– टाइम टु लिड।

उनका पिताले अन्तर्वार्तामा विजय राजनीतिमा प्रवेश गर्न इच्छुक रहेको बताएपछि तत्कालीन मुख्यमन्त्री जयललिता उनीसँग रिसाइन् र सो फिल्मलाई तमिलनाडुमा प्रतिबन्ध लगाइदिइन्।

अन्त्यमा फिल्मको ट्यागलाइन हटाएर रिलिज गरियो। यो फिल्मले उनलाई संस्थापनविरोधी हिरोका रूपमा स्थापित गरिदियो। त्यसपछि मार्सल, कथी, सरकार, मास्टरजस्ता फिल्मले उस्तै विषयवस्तु बोकेका थिए।

राजनीतिमा आउनुभन्दा वर्षौंअघि नै विजयले यसको गहिराइ परख गरिसकेका थिए। २०२१ मा स्थानीय चुनावमा उनका फ्यान क्लबका सदस्यहरूले स्वतन्त्र उम्मेदवारका रूपमा लडेका थिए। १६९ जना चुनाव लडेकामा ११५ जनाले जितेका थिए। सम्भवतः पार्टी खोल्ने आँट उनलाई यही घटनाले दिएको हुनुपर्छ।

सिनेमामार्फत कमाएको प्रशंसकलाई राजनीतिक कार्यकर्तामा उनले जसरी बदले, त्यो कम्ता नाटकीय छैन। विजयले २०२४ मा टीभीके पार्टी घोषणा गरे। यससँगै उनका फ्यान कार्यकर्तामा बदलिए। तमिलनाडुभरि रहेका उनका ८५ हजार फ्यान क्लबलाई एकैपटक पार्टीमा आबद्ध गरियो। यसले एकैपटक टोलटोलसम्म उनको पार्टीको संरचना विस्तार गरिदियो।

अक्टोबर २०२४ मा भएको पार्टीको सभामा ८ लाख जना सहभागी भएको बताइन्छ।

गत सेप्टेम्बरमा पार्टीको जुलुसमा किचिएर ४१ जनाको मृत्यु भएपछि विजय विवादित भए। उनीमाथि सीबीआई छानबिन समेत गर्‍यो।

प्रशंसकलाई कार्यकर्ता बनाइसकेपछि विजयलाई सबै पक्षले अपनत्व महसुस गर्न सक्ने चुनाव चिह्नको आवश्यकता पर्‍यो। र, त्यो आवश्यकता सिठ्ठीले पूरा गरिदियो। नेपालमा रास्वपाको घण्टीजस्तै टीभीकेका लागि सिठ्ठी बदलावको प्रतीक बन्यो। स

अर्को रोचक पक्ष, यो चुनाव आफैँमा फिल्मबाट उब्जिएको विवादको पृष्ठभूमिमा भएको थियो। विजयको फिल्म जननायकन गत जनवरी ९ मा रिलिज हुनेवाला थियो। तर, केन्द्रीय फिल्म प्रमाणन बोर्डले फिल्मको सेन्सर पास गर्न मानेन।

फिल्ममा सेनाको चित्रणलाई लिएर कतिपय सदस्यले आपत्ति जनाएका थिए। त्यस्तै, फिल्ममा ५० भन्दा बढी उग्र राजनीतिक संवाद रहेको र फिल्मले साम्प्रदायिक तनाव बढाउनसक्ने उनीहरूको भनाइ थियो।

यो मामिला अदालत पुग्यो। एक इजलासले फिल्मलाई प्रमाणीकरण गर्न आदेश दियो। तर, पुनरावेदनले फैसला उल्ट्याइदियो। फेब्रुअरीमा फिल्म निर्माताले बोर्डमा समीक्षाका पुन निवेदन दिए।  यसले चुनावलाई प्रभावित पार्छ कि पार्दैन भनेर निर्क्योल गर्न बोर्डले निर्वाचन आयोगकहाँ पठाइदियो।

आजसम्म पनि फिल्म रिलिज भएको छैन। त्यसैले चुनावी नतिजापछि मान्छेहरूले भनिरहेका छन्, ‘सरकारले उनको फिल्म रोकिदियो, उनी आफैँ सरकार बने।’

चुनावी अभियानमा विजयले अकारण आफूलाई सताउन फिल्मको रिलिज रोकिदिएको आरोप लगाए।

अप्रिल ९ मा अचानक यो फिल्मको एचडी लिंक अवैध वेबसाइटहरूमा लिक भयो। पहिलो आरोप सेन्सर बोर्डमाथि लाग्यो। उसले अस्वीकार गरेपछि फिल्म लिक गरेको भन्दै ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ भने ३०० भन्दा बढी लिंक हटाएको छ।

तर, यो लिकले विजय र उनको पार्टीलाई ठूलो फाइदा भयो। किनकि फिल्ममा यस्ता राजनीतिक संवाद छन्, ‘म लुट्नलाई होइन, सेवा गर्नलाई राजनीतिमा आएको हुँ।’

विजयले चुनावी सभाहरूमा पनि यस्तै भाषण दिए। मुख्यगरी उनले आफ्नो पार्टीलाई तमिलनाडुको राजनीतिमा पकड जमाएको दुवै द्रविडियन पार्टीभन्दा अलग रूपमा उभ्याए। उनले डीएमकेबाट निर्वाचित मुख्यमन्त्री एमके स्टालिनलाई ‘अंकल’ भन्दै आक्रमण गरे भने एआईएडीएमकेसँग मिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको विपक्षमा पनि उभिए।

चुनावको मुखमा उनको व्यक्तिगत जीवनका विवादलाई उचाल्ने कोसिस गरियो। चुनावअघि उनकी पत्नी संगीताले हालेको सम्बन्धविच्छेदको मुद्दाको विवरण लिक गरियो। कतिपयले अभिनेत्री तृषा कृष्णनसँग उनको सम्बन्धलाई लिएर टिप्पणी गरे। तर, त्यसले पनि उनको प्रभावलाई रोक्न सकेन।

अर्कोतिर द्रविडियन राजनीतिबाट वाक्क भएका युवा तथा जेनजीको रोजाइमा पनि विजय परे।

उनको पार्टीको घोषणापत्रमा महिलाकेन्द्रित कल्याणकारी कार्यक्रमहरू समेटिएका छन्, जसमा मासिक भत्ता, निशुल्क ग्यास सिलिन्डर, निशुल्क बस सेवालगायत समावेश छन्। दुई द्रविडियन महाशक्तिहरूलाई हराएर विजयले इतिहास त लेखिसकेका छन्, तर आफ्ना वाचाहरूमा डेलिभरी दिन सक्छन् कि सक्दैनन्, त्यसैले आगामी दिनमा उनको परीक्षण गर्नेछ।

(एजेन्सीहरूको सहयोगमा)

सम्बन्धित् समाचार