गृहपृष्ठ खबर ३५ वर्षको इतिहास बोकेको मुहान युवा क्लबमा नयाँ नेतृत्व : लया सेनको काँधमा जिम्मेवारी

३५ वर्षको इतिहास बोकेको मुहान युवा क्लबमा नयाँ नेतृत्व : लया सेनको काँधमा जिम्मेवारी

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित मुहान युवा क्लबको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट लया सेनको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भिमा रेग्मी, सचिवमा जुनु पन्त, सहसचिवमा नविन शर्मा तथा कोषाध्यक्षमा तुल्सीराम राना चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा सगुम मल्ल, आशा केसी, प्रेम हमाल, रोशन गौतम, दलबहादुर केसी र टेकबहादुर गाहा चयन हुनुभएको क्लबले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मिनप्रसाद पोख्रेलले खेलाडीहरुको क्षमता विकास तथा प्रतिभा निखारका लागि प्रशिक्षणको व्यवस्थापनका लागि सम्बन्धित निकायमा आवश्यक सिफारिस र समन्वय गर्ने बताउनुभयो । उहाँले युवाहरुको सक्रियताले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै क्लबले सामाजिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

विशिष्ट अतिथि बाणगंगा नगरपालिका वडा नं। ४ का वडाध्यक्ष छविलाल रेग्मीले करिब ३५ वर्षअघि ‘मुहान सांस्कृतिक परिवार’का रुपमा स्थापना भएको क्लबले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्नुभयो । उहाँले तत्कालीन समयमा विभिन्न स्थानमा पाँच वटा प्रतिक्षालय निर्माण गरिएको जानकारी दिँदै वि।सं। २०६७ सालमा विधिवत दर्ता भएपछि क्लबले जिल्लाभित्र तथा बाहिर आयोजना हुने विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुँदै उपाधिसमेत जित्दै आएको बताउनुभयो ।

सो अवसरमा उहाँले क्लबले २९औँ झरना कपको उपाधि समेत जित्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा क्लबलाई अझ सशक्त, व्यवस्थित र रचनात्मक ढंगले अघि बढाउन आग्रह गर्नुभयो । साथै स्थानीय सरकारले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रम रामु पौडेलको अध्यक्षता तथा चन्द्रकान्त भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार