गृहपृष्ठ खबर बाणगंगामा बजार अनुगमन : व्यवसायीलाई एक साताभित्र सुधार गर्न निर्देशन

बाणगंगामा बजार अनुगमन : व्यवसायीलाई एक साताभित्र सुधार गर्न निर्देशन

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले बजार व्यवस्थापन, उपभोक्ता हित संरक्षण तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले बजार अनुगमन गरेको छ ।

मंगलबार नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरमा गरिएको अनुगमनमा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक रिता कुमारी चौधरीसहित नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा केही व्यवसायीले नगरपालिकामा व्यवसाय दर्ता नगरेको, अधिकांश पसलमा मूल्यसूची नराखिएको तथा खरिद–बिक्रीको बिल प्रयोग नगरेको पाइएको टोलीले जनाएको छ ।

त्यस्तै मासु पसलहरूमा आवश्यक सरसफाइको कमी देखिएको भन्दै सम्बन्धित व्यवसायीलाई एक साताभित्र उचित व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

अनुगमनपछि नगरप्रमुख चक्रपाणी अर्यालले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजारलाई व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले व्यवसाय सञ्चालन गर्दा कानुनी प्रक्रिया पूरा गर्न, मूल्यसूची अनिवार्य राख्न तथा उपभोक्तालाई बिल उपलब्ध गराउन सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।

“बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन नगरपालिका प्रतिबद्ध छ,” नगरप्रमुख अर्यालले भन्नुभयो, “नियम विपरीत सञ्चालन भएका व्यवसायलाई सुधारका लागि समय दिएका छौं, अटेर गरे कानुन अनुसार कारबाही हुन्छ ।”

उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक रिता कुमारी चौधरीले उपभोक्ताले गुणस्तरीय सेवा पाउनुपर्ने भएकाले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो । उहाँले विशेषगरी खाद्य तथा मासु पसलमा सरसफाइ, मापदण्ड र मूल्य पारदर्शितामा ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।

नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित् समाचार