कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ ठाकुरापुरस्थित युनाईटेड अस्पतालमा नयाँ नेतृत्व नियुक्त गरिएको छ ।
अस्पतालद्वारा आयोजित विशेष समारोहबीच वरिष्ठ हाडजोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. समीर खानले मेडिकल सुपरिन्टेन्डेन्ट तथा डा. सुमन श्रेष्ठले सहायक मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा औपचारिक पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण समारोहकै अवसरमा अस्पतालमा नव नियुक्त चिकित्सक तथा कर्मचारीहरूलाई स्वागत समेत गरिएको थियो । स्वागत गरिएकामध्ये वरिष्ठ जनरल सर्जन डा। सन्तोष पौडेल, फिजियोथेरापिस्ट डा। एरिका थापा लगायत विभिन्न विभागमा कार्यरत ८ जना स्वास्थ्यकर्मी रहेका छन् ।
कार्यक्रममा अस्पतालका अध्यक्ष मुनाराम चालिसे, कार्यकारी निर्देशक सुन्दर आचार्य, अस्पताल विकास समितिका सदस्य एवं निर्माण समिति संयोजक दोलख बहादुर पछाई, संस्थाका सचिव खिम बहादुर जिसी, इन्टरनल मेडिसिन विशेषज्ञ डा। गोविन्द रावत, इमरजेन्सी विभागका डा। योगेन्द्र थापा लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले युनाईटेड अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय तथा सेवाग्राहीमैत्री बनाउन नयाँ नेतृत्व तथा नव नियुक्त स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका थिए । उनीहरूले अस्पताललाई क्षेत्रकै उत्कृष्ट स्वास्थ्य संस्थाको रूपमा विकास गर्न सबैले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए ।
सहभागीहरूले नव नियुक्त पदाधिकारी तथा कर्मचारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अस्पतालको थप प्रगति र सेवा विस्तारमा योगदान पुग्ने अपेक्षा समेत गरेका थिए ।







