कपिलवस्तुको शिवराज नगरपालिकास्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०८१/०८२ को कारोबारमा अनियमितता भएको उजुरीपछि अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई,चन्द्रौटा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट अमित पाण्डेय,अस्पतालको फार्मेसीका कर्मचारी रुक्सना खातुन,नेपाल बैंक लि. चन्द्रौटाका क्यासियर कमलप्रसाद भण्डारी र नेपाल बैंकको मणिग्राम शाखाका कार्यालय सहयोगी तथा तत्कालिन चन्द्रौटा शाखामा कार्यरत बिक्रम केसी पक्राउ परेका हुन् ।
उनीहरुले अस्पतालको ३८ लाख ११ हजार ७ सय ७० रुपैयाँ हिनामिना गरिएको पाइएको प्रहरीले जनाएको छ ।
शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले अस्पतालको रकम हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।







