मनोज पौडेल
कपिलवस्तु ।
प्रतियोगिताको नाम दौड राखिएको छ । तर, सबैले हातमा पन्जा र मुखमा मास्क लगाएका छन् । सबैका हातमा बोरा छन् । सानादेखि ठूला सबैले बोरा बोकेर दोडादौड गरिरहेछन् । बाटोको दायाँबायाँ भेटिएका फोहर बस्तु संकलन गर्दै हस्याङफस्याङ दौड्दै छन् । यो दृश्य हो जिल्लाको सुदूरपश्चिममा पर्ने विजयनगर गाउँपालिकाद्वारा आयोजित फोहर संकलन खुला दौड प्रतियोगिताको ।
फोहर संकलन गर्न सचेतना जगाउने उद्देश्यले गाउँपालिकाद्वारा बिहीबार आयोजित प्रतियोगितामा एक घन्टामा ७ क्विन्टल ६० किलो फोहर संकलन भएको छ । बालबालिकादेखि समुदायका अगुवालाई कुन कुन बस्तु फोहर हुन् भन्ने चिनाउँदै फोहर संकलन गर्न उत्प्रेरित गर्ने र गाउँटोललाई सरसफाइ गर्न उत्प्रेरित गर्ने उद्देश्यले समुदायलाई फरक ढंगले परिचालित गरेर उत्साहित बनाउन कार्यक्रम आयोजना गरिएको आयोजकको दाबी छ ।
७ वर्षे बालिकादेखि ६२ वर्षे वृद्धसम्म सहभागी भएको कार्यक्रममा निर्धारित समयमा धेरै फोहर बस्तु संकलन गर्ने तीन जनालाई नगद पुरस्कार दिइएको थियो । प्रतियोगितामा सबैभन्दा धेरै ९४.२४ किलो फोहर बस्तु संकलन गरेर जम्मा गर्ने विवेकसिंह चौधरी प्रथम भए । त्यस्तै ६१.६६ किलो फोहर सकलन गर्ने अहमद हुसेन दोस्रो भए । त्यस्तै ५७.२७ किलो फोहर संकलन गर्ने असफाग अहमद तेस्रो भए । तीनै जनालाई गाउपालिका अध्यक्ष गोपाल थापाले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
बिहीबार बिहान ८ बजे गाउँपालिकाको पत्थरदेइयास्थित जनता आधारभूत विद्यालयबाट सुरु भएको दौड जगदीशपुर प्रहरी चौकी पुगेर समापन भएको थियो । एक किमि ८ सय मिटर दूरीको बाटोमा पर्ने तीन गाउँ र दायाँबायाँका घरका छेउकुनामा भएको फोहर संकलन गरिएको हो । नकुहिने फोहर, प्लास्टिक, सिसा, जुत्ता–चप्पल, बोतल, गुट्काका टुक्रा संकलित गरिएको थियो । प्रचण्ड गर्मीमा पनि स्थानीयले असिनपसिन हुँदै फोहर संकलन गरेका थिए । फोहर संकलनका लागि बोरा गाउँपालिकाले उपलब्ध गराएको थियो ।
एकै जनाले ३ बोरासम्म फोहर संकलन गरेका थिए । फोहर गाउँपालिकाले ट्रयाक्टरमा राखेर डम्पिङ साइटमा लगेर नष्ट गरेको छ । नौलो र रोचक कार्यक्रम हुँदा गाउँलेले पनि चाख मानेर हेरेका थिए ।
यस्ता सन्देशमूलक कार्यक्रमले फोहर सरसफाइ हुने, समुदायले आफैं गर्न सक्छ भन्ने सन्देश गएको देखेर उत्साहित हुने भएकाले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘यस वर्ष कार्यक्रम निकै प्रभावकारी भयो,’ उनले भने, ‘अब अर्को वर्षमा यसलाई वडासम्म विस्तार गर्नेछौं ।’ फोहर संकलन खुल्ला दौड प्रतियोगिता प्रतिस्पर्धाभन्दा पनि एकता, सद्भाव र समन्वयले स्वतस्फूत रूपमा गाउँ, टोल र बस्ती सरसफाइ हुन सक्ने सकारात्मक सन्देश गएको गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत हिमालाल विश्वकर्माले बताए ।
खेलको अनुभव हुने, शारीरिक श्रम हुने भएर स्वँस्थलाई पनि फाइदा पुग्ने हुँदा धेरैको चासो रहेको उनले बताए ।







