वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन्यजन्तु संरक्षण तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।
वन क्षेत्रभित्र विभिन्न कारणले घाइते भएका, दुर्घटनामा परेका तथा अन्य समस्यामा फसेका वन्यजन्तुको समयमै उद्धार गरी संरक्षण गर्ने कार्यलाई वनले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
वनका अध्यक्ष दिनेश प्रसाद जयसवालले वन क्षेत्रमा पछिल्लो समय वन्यजन्तु उद्धारका घटनाहरू बढ्दै गएको जानकारी दिँदै वनभित्र वा आसपासका क्षेत्रमा चोटपटक लागेका जीवजन्तुलाई सुरक्षित रूपमा उद्धार गरी आवश्यक उपचार तथा संरक्षणको व्यवस्था गरिएको बताएका छन् ।
उनका अनुसार सडक दुर्घटना, जङ्गली जनावरबीचको आक्रमण, प्राकृतिक विपत्ति तथा मानव गतिविधिका कारण समस्यामा परेका वन्यजन्तुहरूलाई स्थानीयवासी, वन कर्मचारी तथा सुरक्षाकर्मीको सहकार्यमा उद्धार गर्ने गरिएको छ । उद्धार गरिएका जनावरहरूको अवस्था अनुसार उपचारपछि पुनः प्राकृतिक बासस्थानमै छाड्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
वनले वन्यजन्तु संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै अध्यक्ष जयसवालले बताए । वन क्षेत्रमा अवैध गतिविधि नियन्त्रण, चोरी सिकार न्यूनीकरण तथा जैविक विविधता संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउन विभिन्न अभियान सञ्चालन गरिएको अध्यक्ष जयसवालले बताए ।
स्थानीयवासीहरूले पनि वन्यजन्तु संरक्षणमा वनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । वन्यजन्तुको संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत समितिको सक्रियता प्रभावकारी बन्दै गएको उनीहरूको भनाइ छ ।








