काठमाण्डौ – आज र भोलि लुम्बिनी र सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ । गएराति कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटमा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा मापन भएको छ ।
साथै हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको छ । केही दिनयता पश्चिम तराईमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढी धनगढीमा ३९ र नेपालगञ्जमा ३८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू–भागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्मै सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरैजसो भागमा ठूलो पानी पर्ने सम्भावना छ ।







