सागर विक, वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाको १९औँ नगरसभाको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । नगर प्रमुख चक्रपाणि अर्यालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बुधबार सम्पन्न नगरसभाबाट पारित भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
अब नगरसभाको दोस्रो बैठक आगामी असार १० गते बस्नेछ, जसमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिनेछ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख चक्रपाणि अर्यालले बाणगंगालाई थप समृद्ध, आत्मनिर्भर र नागरिकमैत्री नगरका रूपमा विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
उहाँले ‘ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा’ अभियानलाई अझ प्रभावकारी बनाउँदै उत्पादन, रोजगारी, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास, डिजिटल सेवा तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। सीमित स्रोत–साधनका बाबजुद जनअपेक्षा पूरा गर्ने गरी आगामी वर्षलाई उत्पादन, उद्यमशीलता, रोजगारी र विकासको वर्षका रूपमा अघि बढाइने उहाँको भनाइ थियो ।
त्यसैगरी नगर उपप्रमुख रीता कुमारी चौधरीले नगरपालिकाले विगतमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनेतर्फ नीति तथा कार्यक्रम केन्द्रित रहेको बताउनुभयो।
शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण तथा बालमैत्री स्थानीय शासनलाई थप मजबुत बनाउने गरी कार्यक्रमहरू समेटिएको उहाँले उल्लेख गर्नुभयो। नगरवासीको जीवनस्तर उकास्ने र विकासको प्रत्यक्ष अनुभूति दिलाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम निर्माण गरिएको उहाँको भनाइ थियो ।
पारित नीति तथा कार्यक्रममा ‘एक घर एक धारा’ अभियान सम्पन्न गर्ने, अधुरा खानेपानी आयोजना पूरा गर्ने, कृषि तथा पशुपालनको आधुनिकीकरण, पिपरा अस्पतालको सेवा विस्तार, स्मार्ट विद्यालय अवधारणाको कार्यान्वयन, युवा स्वरोजगार कार्यक्रम, औद्योगिक ग्राम स्तरोन्नति, पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षणका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब १ अर्ब ८९ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । जसबाट सामाजिक विकास, पूर्वाधार, सुशासन, आर्थिक विकास तथा वातावरण तथा विपद् व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।







