कपिलवस्तु ।
बुद्धभुमि नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पर्यटन विकाससहित बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको हनुमान चोक स्थित सभा हलामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रममा सो प्रस्तुत गरिएको हो ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले सभाका बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगार, कृषि, सूचना प्रविधि, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताउनुभयो ।
“खुसी नगरबासीः समृद्ध बुद्धभूमि” भन्ने मूल नारासहित उनले गुणस्तीय शिक्षा र आधारभुत स्वास्थ्य सुबिधा सुनिश्तिताकालागि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताउनुभयो ।
उहाले नगरको गौरव योजना तथा अधुरा योजनालाई प्राथमिकताकासाथ अघि बढाईने बताउनुभयो । बु्ढढी तौलिहवा सडकलाई यसै बषं संपन्न गर्ने वैदेशिक रोजगारीमा रहेका युवा तथा तिनका परिवारलाई लक्षित गरी “सामी र के हामी” कार्यक्रममार्फत सीप, परामर्श तथा सहयोग उपलब्ध गराइने बताउनुभयो ।
बजारको मागअनुसार सूचना तथा सञ्चार प्रविधिमा आधारित तालिम सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारी तथा आम्दानीको अवसर सिर्जना गर्ने नीति लिइएको छ । कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्न मासिक रूपमा कृषिबाली तथा पशु स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरिने, माटोको गुणस्तर सुधारका लागि प्राङ्गारिक तथा कम्पोस्ट मल प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने तथा कृषि प्रविधिको अधिकतम उपयोग गरिने जनाइएको छ । नगरपालिकाले राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई सहज बनाउन आवश्यक सेवा कार्यालय स्थापना तथा सञ्चालन गर्ने नीति पनि अघि सारेको छ ।

साथै अपांता भएका व्यक्ति, अति अशक्त बिरामी तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइने कार्यक्रम समेटिएको छ । नीति तथा कार्यक्रमले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहमार्फत समृद्ध बुद्धभूमि निर्माणको लक्ष्यलाई अघि बढाएको नगरपालिकाले जनाएको छ ।
नगरसभामा नगर उपप्रमुख मिरा चौधरीले बुद्धभूमि नगरपालिकाको विनियोजन ऐन, २०८३ प्रस्तुत गर्दै आगामी आर्थिक बर्षकालागि १ अर्ब ३६ करोड ५२ लाख ३६ हजारको बजेट पेश गरेका थिईन ।
यस्तै उनले न्यायिक समितिको प्रतिवेदन आर्थिक ऐन, २०८३ तथा नगर दररेट, २०८३ सम्बन्धी विधेयक प्रस्तुत गरेकी थिईन । त्यसैगरी विभिन्न विषयगत समितिका संयोजकहरूले आ–आफ्ना समितिका प्रतिवेदन पेश गरेका थिए ।
आर्थिक विकास समितिका संयोजक तथा वडा अध्यक्ष प्रमोद आचार्य, सार्वजनिक सेवा तथा क्षमता विकास (सुशासन) समितिका संयोजक कपिल देव तिवारी, पूर्वाधार विकास समितिका संयोजक तेज बहादुर बस्नेत तथा वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक रोमबहादुर थापा ले प्रतिवेदन प्रस्तुत गरको थिए । विधायन समितिको प्रतिवेदन समितिका संयोजक सन्दीप कुमार पाण्डेले र आर्थिक वर्ष २०८२/०८३ को लेखा समितिको प्रतिवेदन वडा अध्यक्ष गोविन्द आचार्य ले प्रस्तुत गरका थिए ।







