गृहपृष्ठ Featured अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता, साढे तीन महिनादेखिको युद्ध अन्त्य हुँदै

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता, साढे तीन महिनादेखिको युद्ध अन्त्य हुँदै

झण्डै साढे ३ महिनादेखि मध्यपूर्वमा चलिरहेको अमेरिका–इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा सँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनानसहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कारबाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ । उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुनेछ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ ।

इरानका उपविदेशमन्त्री काजेम घरीबाबादीले राज्य सञ्चालित सञ्चारमाध्यममार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षरअघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक तहमा थप छलफल हुनेछ । सम्झौताअनुसार दुवै पक्षले युद्धविराम कायम राख्ने, हर्मुज जलमार्ग खुला गर्ने, समुद्री यातायातमा लगाइएका अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्तामार्फत समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन् ।

साथै, आउँदो ६० दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनीतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने सहमति भएको छ । झण्डै साढे ३ महिनाअघि अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रमा आक्रमण गरेपछि युद्ध शुरु भएको थियो । जवाफमा इरानले इजरायल तथा अमेरिकाका खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको थियो ।

युद्धका कारण विश्वकै महत्वपूर्ण ऊर्जा मार्ग मानिने हर्मुज बन्दजस्तै बनेको थियो, जसले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा गम्भीर असर पारेको थियो । इरानले खाडी क्षेत्रमा आफ्नो प्रभाव प्रदर्शन गर्दै ऊर्जा आपूर्ति मार्गमा दबाब सिर्जना गरेको थियो भने अमेरिका र उसका सहयोगी राष्ट्रहरूले समुद्री नाकाबन्दीमार्फत इरानमाथि आर्थिक तथा सामरिक दबाब बढाएका थिए । यसले विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढाएको थियो र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पारेको थियो ।

सम्झौताको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ । यसैबीच राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले सम्झौतालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भन्दै स्वागत गर्नुभएको छ । अन्य विभिन्न देशले पनि सम्झौताको स्वागत गरेका छन् । यद्यपि सम्झौताको पूर्ण पाठ सार्वजनिक भइसकेको छैन ।

सम्बन्धित् समाचार