गृहपृष्ठ Featured कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा

कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा

अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा आइपुगेको छ ।

दुवै देशले इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र महत्त्वपूर्ण हर्मुज जलमार्ग पुनः खोल्ने सम्झौतामा पुगेको बताएपछि तेलको मूल्य मार्च १० यताकै न्यून विन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आज ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै ५ प्रतिशतले घटेर प्रतिब्यारेल ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको थियो ।

युद्ध शुरू हुनुअघि तेलको मूल्य प्रतिब्यारेल ७० डलर हाराहारी रहेको थियो । यो सम्झौताले राहतको सङ्केत देखिए पनि तेल आपूर्ति युद्धअघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन् ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देशबीचको समझदारीपत्रमा आउँदो शुक्रवार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने तय भएको छ ।

गएको फेब्रुअरी २८ देखि शुरू भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज जलमार्ग अवरुद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो । यो मार्ग भएर विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्छ ।

सम्बन्धित् समाचार