गृहपृष्ठ Featured औसत मितिभन्दा ६ दिन ढिला गरी मनसुन भित्रियो, देशभर फैलिन समय लाग्ने

औसत मितिभन्दा ६ दिन ढिला गरी मनसुन भित्रियो, देशभर फैलिन समय लाग्ने

काठमाण्डौ — यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ । मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख भए पनि यस वर्ष औसत मितिभन्दा ६ दिन ढिला गरी हिजो जुन १९ तारिखमा मनसुन पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो ।

पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन देशभर फैलिन केही समय लाग्नेछ । गएको वर्ष भने मनसुन १५ दिनअघि नै प्रवेश गरेको थियो । यसपालि प्रिमनसुनमा धेरै वर्षा भएको छ ।

यस वर्ष मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आंकलन गरिएको छ । यसैबीच मनसुन प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शितल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढेको छ ।

आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही केही ठाउँमा पनि  तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र मधेश प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भेग तथा कोशी प्रदेशका तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित् समाचार