कपिलवस्तु।
कपिलवस्तुका युवा नेता आशिष शर्माले कपिलवस्तुको पहिचान, प्रतिनिधित्व र विकासका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
शर्माले कपिलवस्तुको पहिचान केवल चुनावी मुद्दा नभई जिल्लाको अस्तित्व, इतिहास र स्वाभिमानसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्। विगतको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु–१ का मतदातामाझ यही विश्वासका साथ पुगेको स्मरण गर्दै उनले संसदमा कपिलवस्तुको आवाज बलियो बनाउने, जिल्लाको हक, अधिकार र सम्भावनाका पक्षमा दृढ रूपमा उभिने आफ्नो उद्देश्य रहेको बताएका छन्।
उनले हालसम्म पनि कपिलवस्तु केन्द्र तथा प्रदेश सरकारको बजेट, योजना र प्राथमिकतामा अपेक्षित रूपमा समेटिन नसकेको दाबी गरेका छन्। सरकारका विभिन्न तहबाट जिल्लाले आवश्यक प्राथमिकता नपाउँदा कपिलवस्तु निरन्तर उपेक्षामा परेको उनको भनाइ छ।
यस्तै, जनताले विश्वास गरेका नयाँ राजनीतिक शक्तिहरू तथा स्थापित राजनीतिक दलहरूको संरचनामा समेत कपिलवस्तुको प्रतिनिधित्व अपेक्षाअनुसार हुन नसकेको शर्माको टिप्पणी छ। समानुपातिक प्रतिनिधित्वदेखि नेतृत्व तहसम्म जिल्लाको उपस्थिति कमजोर देखिनु गम्भीर समीक्षा गर्नुपर्ने विषय भएको उनले उल्लेख गरेका छन्।
शर्माले यो विषय कुनै व्यक्ति वा निर्वाचनको हार–जितसँग मात्र सम्बन्धित नभई कपिलवस्तुको सम्मान, पहिचान र भविष्यसँग जोडिएको मुद्दा भएको बताएका छन्। उनले आफ्नो अभिव्यक्तिलाई गुनासो नभई आत्मसमीक्षा भएको स्पष्ट पार्दै इतिहास गुनासोले नभई निरन्तर प्रयासले परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्।
साथै उनले कपिलवस्तुको पहिचान र अधिकारको अभियान कुनै एक व्यक्ति वा एक निर्वाचनको नभई सम्पूर्ण कपिलवस्तुवासीको साझा यात्रा भएको उल्लेख गर्दै आगामी दिनमा पनि जनतासँगै निरन्तर उभिइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले लेखेको फेसबुक स्टाटस यस्तो छ ।









