गृहपृष्ठ Featured कपिलवस्तुमा धान रोपाइँ सुस्त : असार तेस्रो सातासम्म १६ प्रतिशत मात्रै प्रगति

कपिलवस्तुमा धान रोपाइँ सुस्त : असार तेस्रो सातासम्म १६ प्रतिशत मात्रै प्रगति

वर्षा नहुँदा कपिलवस्तुमा रोपाइँ प्रभावित भएको छ। वर्षा अभावले रोपाइँले गति लिन सकेको छैन। जिल्लाको मुख्य बालीका रूपमा रहेको धान रोपाइँ असार तेस्रो सातासम्म १६ प्रतिशत मात्र भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

असार १५ पछि फाटफुट मात्र रोपाइँ सुरु भएको थियो। त्यसयता खासै वर्षा नभएपछि रोपाइँले गति लिन सकेको छैन। गत वर्ष यही अवधिमा ४० देखि ४५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पानीको अभावले यस वर्ष ढिलो गरी रोपाइँ सुरु भएको थियो। १० पालिकाको कृषि शाखासँग लिएको तथ्यांकका आधारमा गत शुक्रबारसम्म १५ दशमलव ९५ प्रतिशत मात्र रोपाइँ भएको ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए।

उनले गत वर्षभन्दा यस वर्ष रोपाइँको प्रतिशत केही कम रहेको बताए। ‘वर्षा नहुँदा रोपाइँले गति लिन सकेको छैन’ उनले भने। जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिन्छ। ढिलो मनसुन सुरु भएसँगै सिँचाइको सुविधा रहेको उत्तरी क्षेत्रमा बढी र दक्षिणी क्षेत्रमा कम रोपाइँ भएको प्रमुख चौधरीले बताए।

कृषक महासंघका सचिव बालगोविन्द त्रिपाठी मनसुन ढिलो गरी सुरु भएको र मलखादको अभाव भएकाले यस वर्ष पनि उत्पादनमा असर पर्ने बताउँछन्। ‘रोपाइँ ढिलो भयो, उत्पादनमा पनि असर पर्छ, कृषक फेरि मर्कामा परेका छन्’ उनले भने। उनका अनुसार अधिकांश कृषकले सिँचाइ अभावका कारण तेस्रो साता बितिसक्दा समेत रोपाइँ सुरु गर्न सकेका छैनन्।

जिल्लामा कुल जग्गाको ३१ हजार ६५९ हेक्टरमा मात्र सिँचाइ सेवा पुगेको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ६ थुमुवाका कृषक नारद कोहारले पानीको अभावका बीच पम्पसेटले सिँचाइ गरी ३ दिनदेखि रोपाइँ सुरु गरेको बताए। पानी नपरेकाले धेरै किसानले रोपाइँ गर्न नसकेको उनको भनाइ रहेको छ। सिँचाइ र मलखादको अभाव वर्षौंदेखि किसानले झेल्दै आएको उनले सुनाए।

राम, साबित्री, साभा सव वन, राधा चार, सुख्खा दुई, सुख्खा तीन र सम्पूर्ण हाइब्रिडतर्फ गोरखनाथ, युएस ३१२, चौसठ्ठी चौवालिस तथा रैथानेतर्फ कालानमक, पठनी, अनादी र सरिया धानको खेती गर्न थालिएको छ। जिल्लाको धान उत्पादन प्रतिहेक्टर ३ देखि ४ मेट्रिक टन रहेको जनाइएको छ।

सम्बन्धित् समाचार