नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ ।
प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको हो ।
‘हाम्रा सातवटै प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौं,’ कांग्रेसका एक पदाधिकारीले भने ।
आजमात्रै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो ।
कर्णालीमा एमालेको र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ । अब बाँकी अन्य प्रदेशमा पनि एमाले–कांग्रेसबीच भएको सहमति तोडिने भएको हो ।
प्रदेश सरकारमा नेकपासँग समझदारी भएको खण्डमा सरकारमै रहनेगरी छलफल अघि बढाइएको र नभए सबै प्रदेशमा प्रतिपक्षी बेञ्चमा बस्ने अनौपचारिक छलफलको निष्कर्ष रहेको तीन नेताले अनलाइनखबरलाई जानकारी दिए ।







