गृहपृष्ठ Featured बिजुली सस्तो बनाउने बेला जलविद्युत् किन बेचियो?’ – पूर्व मन्त्री विष्णु पन्थी

बिजुली सस्तो बनाउने बेला जलविद्युत् किन बेचियो?’ – पूर्व मन्त्री विष्णु पन्थी

वैखरी अनलाइन, कपिलवस्तु ।

लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री विष्णु पन्थीले सरकारले जलविद्युत् आयोजना बिक्री गर्ने निर्णयसहित अपनाएको आर्थिक नीतिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पन्थीले अर्थ मन्त्रालयको नेतृत्वमाथि प्रश्न उठाएका छन्। उनले विद्युत् महसुल सस्तो बनाएर आन्तरिक विद्युत् खपत बढाउने, खाना पकाउन तथा यातायातमा विद्युत्को प्रयोग विस्तार गरी डिजेल–पेट्रोलको आयात घटाउने अवसर रहेको अवस्थामा नाफामा रहेका जलविद्युत् आयोजनाहरू बेच्ने निर्णयको औचित्यमाथि प्रश्न गरेका हुन्।

पन्थीले सरकारले करिब ७.५ प्रतिशत प्रतिफल दिने जलविद्युत् आयोजना बिक्री गरी १० प्रतिशत ब्याजदरमा ऋण लिने अवस्था सिर्जना गर्नु उचित नभएको उल्लेख गरेका छन्। उनले नाफामा रहेका सम्पत्ति बिक्री गरेर राज्यलाई दीर्घकालीन रूपमा घाटा हुने तर्कसमेत गरेका छन्।

उनले आफ्नो स्टाटसमार्फत जलविद्युत् आयोजना बिक्रीबाट प्राप्त रकम पाँच वर्ष बैंकमा राख्दा प्राप्त हुने प्रतिफल र आयोजना सञ्चालनबाट हुने आम्दानीबीच तुलना गर्दै सरकारको निर्णय आर्थिक रूपमा उपयुक्त नरहेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त धारणा अहिले विभिन्न पक्षबाट चर्चा र प्रतिक्रिया बटुलिरहेको छ। सरकारले सार्वजनिक सम्पत्ति व्यवस्थापन र आर्थिक नीतिमा लिएका निर्णयबारे बहस भइरहेका बेला पूर्व मन्त्री पन्थीको अभिव्यक्तिले थप चासो बढाएको छ।

सम्बन्धित् समाचार