वैखरी अनलाइन, कपिलवस्तु।
लुम्बिनी प्रदेशमा चालु वर्षको धान रोपाइँ समग्रमा ८०.६ प्रतिशत सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय, लुम्बिनी प्रदेशले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार प्रदेशभर रोप्नुपर्ने कुल ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख ४३ हजार ९५१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो।
निर्देशनालयका अनुसार जिल्लागत रूपमा हेर्दा रोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
त्यस्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा ९७.५ प्रतिशत, प्युठान र रुकुम (पूर्व) मा ९६–९६ प्रतिशत तथा दाङमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको विवरणमा उल्लेख छ।
प्रदेशका प्रमुख कृषि जिल्ला कपिलवस्तुमा भने हालसम्म ६०.८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।
कपिलवस्तुमा धान खेती हुने कुल ६६ हजार २६५ हेक्टर क्षेत्रफलमध्ये ४० हजार २६९ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ।
यस्तै बाँकेमा ६० प्रतिशत, पाल्पामा ५८ प्रतिशत, बर्दियामा ५५ प्रतिशत, रुपन्देहीमा ५१ प्रतिशत तथा अर्घाखाँचीमा ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यी जिल्लामा अझै पर्याप्त क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको देखिएको छ।
कृषि विकास निर्देशनालयले जिल्लास्थित कृषि कार्यालयहरूबाट प्राप्त विवरणका आधारमा असार ३१ गतेसम्मको तथ्यांक सार्वजनिक गरेको हो। मनसुनको अवस्था, पर्याप्त वर्षा र सिँचाइको उपलब्धताका आधारमा बाँकी क्षेत्रफलमा पनि छिट्टै धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको निर्देशनालयले जनाएको छ।
धान नेपालका प्रमुख खाद्यान्न बालीमध्ये एक भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादन वृद्धि र खाद्य सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिन्छ। कृषकहरू अहिले बाँकी खेतमा रोपाइँ सम्पन्न गर्न व्यस्त रहेका छन्।







