पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा पछिल्लो सात वर्षयता सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ। एक समय वर्षायाम सुरु हुनासाथ पहिरो, ढुंगा र तीव्र गतिका कारण बारम्बार दुर्घटना हुने यो सडकखण्डमा अहिले चालकको सावधानी, ट्राफिक व्यवस्थापनमा कडाइ र ठूलो वर्षा हुँदा सवारी साधन रोक्ने अभ्यासले दुर्घटना न्यूनीकरण भएको प्रहरीको निष्कर्ष छ।
जिल्ला प्रहरी पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जोखिमबारे चालकमा चेतना बढ्नु र ट्राफिक नियमको कडाइका कारण दुर्घटना घटेको बताए। ‘जोखिम क्षेत्र हो भन्ने थाहा हुँदाहुँदै पनि विगतमा जबर्जस्ती सवारी चलाउने प्रवृत्ति थियो,’ उनले भने, ‘अहिले चालकलाई निरन्तर सचेत गराउने, ट्राफिक नियम कडाइका साथ लागू गर्ने र ठूलो वर्षा हुँदा सवारी रोकिने व्यवस्थाले दुर्घटना घटेको छ।’
बुटवल–गुल्मी रुटमा इभी चलाउने चालक दीपेश खत्रीका अनुसार सुरुङमार्ग निर्माणका कारण सडक साँघुरो भएकाले पनि तीव्र गतिमा सवारी चलाउन सकिने अवस्था छैन। ‘चार किलोमिटर क्षेत्रमा खाल्डाखुल्डी र निर्माण कार्यका कारण बिस्तारै चलाउनुपर्छ,’ उनले भने, ‘अर्कोतर्फ निकै होसियार भएर मात्रै सवारी चलाउनुपर्ने भएकाले पनि दुर्घटना घटेको हुन सक्छ।’







