स्पेनका अधिकारीहरूले पछिल्लो २४ घण्टामा मोरक्कोबाट झन्डै ४९ हजार जना आप्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दाबी गरेका छन् ।
हिजो सार्वजनिक भएका भिडियो र तस्वीरहरूमा हजारौँ आप्रवासी पौडी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ । आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढेको हो । त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भू–भाग मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ ।
स्पेनी अधिकारीहरूका अनुसार स्पेन प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा १८ जनाको ज्यान गएको छ ।
पछिल्ला केही दिनमा सेउटा क्षेत्रमा आइपुगेका आप्रवासीहरूको सङ्ख्या यो शहरको जनसङ्ख्याको आधाभन्दा धेरै हुन सक्ने आधिकारिक अनुमान छ । स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसङ्ख्या झन्डै ८३ हजार ६०० छ ।
स्पेनी अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा सेउटा क्षेत्रमा प्रवेश गरेका आप्रवासीहरूमध्ये कम्तीमा ७ हजार जना बालबालिका छन् ।
हजारौँ आप्रवासीले एकैपटक सीमा पार गरेपछि स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय सङ्कटमा परिणत भएको अधिकारीहरूले बताएका छन् ।
स्युटा मोरक्कोको उत्तरी तटमा रहेकाे छ । स्युटा र स्पेनलाई जिब्रल्टर जलमार्गले छुट्ट्याउँछ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पश्चिम सहारा क्षेत्रको स्वतन्त्रतालाई समर्थन गर्ने अल्जेरियाको भ्रमण गरेपछि मोरक्को र स्पेनबीच फेरि कूटनीतिक विवाद उत्कर्षमा पुगेको छ ।
यद्यपि स्पेनको गृह मन्त्रालयले आफ्नो भूभागमा गैरकानूनी रूपमा प्रवेश गरेका सबै मानिसहरूलाई जतिसक्दाे चाँडाे फिर्ता पठाउन मोरक्कोसँग सहकार्य गरिरहेको जनाएको छ । स्पेनी प्रधानमन्त्री आज स्युटाको भ्रमण गर्ने योजनामा हुनुहुन्छ ।
मोरक्कोले पनि स्युटा र मेलिलामाथि आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएकाले यी दुई शहर मोरक्को र स्पेनबीचको कूटनीतिक सम्बन्धमा लामो समयदेखि विवादको विषय रहँदै आएका छन् । स्पेनले यी दुवै क्षत्र आफ्ना अभिन्न अङ्ग भएको बताउने गरेको छ ।







