मोरक्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या ६० हजार पुगेको अनुमान गरिएको छ । झण्डै ६० हजार आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनुभएको छ ।
मानिसहरूको ठूलो ओइरोका क्रममा कम्तीमा ५७ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ । हजारौँ आप्रवासी सीमा क्षेत्र पार गरी भित्रनेक्रम बढेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय सङ्कटमा परिणत भएको त्यहाँका अधिकारीले बताएका छन् ।
त्यहा छिरेका आप्रवासीलाइ आश्रयको अभाव भएको छ । साथमा अभिभावक नभएका बालबालिकासहित हजारौँ आप्रवासी पार्क, सडक र फुटपाथमा रात बिताउन बाध्य भएका छन् । धेरैजना उद्देश्यविहीन रूपमा सडकमा भौतारिरहेका सार्वजनिक भिडियो देखिन्छ । स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढेको हो ।
त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भू–भाग मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ । स्थानीय तथ्याङ्कअनुसार सेउटा शहरको जनसङ्ख्या झन्डै ८३ हजार ६०० छ ।







