युगान्डाका प्रख्यात फुटबल खेलाडी २७ वर्षीय डेभिड ओओरीको राजधानी कम्पालामा लुटेराहरूको कुटपिटबाट मृत्यु भएको छ। आफ्नै घर नजिकै भएको यो दुखद घटनाले अहिले युगान्डा शोकमा छ।
प्रहरीका अनुसार ओओरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनलाई घेरेको थियो। उनीहरूले ओओरीको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए। ओओरीले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले उनलाई ढुङ्गाले निर्घात कुटपिट गरे।
आक्रमणपछि लुटेराहरू सामान लिएर फरार भए भने ओओरी बेहोस अवस्थामा भेटिए। उनलाई तत्काल क्लिनिक र पछि ठूलो अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा बुधबार उनको मृत्यु भयो।
ओओरी युगान्डाको सबैभन्दा सफल क्लब ‘स्पोर्ट्स क्लब भिल्ला’ का कप्तान थिए।
उनले युगान्डाको राष्ट्रिय टोलीबाट पनि अन्तर्राष्ट्रिय खेलहरू खेलेका थिए।
उनी मैदानमा ‘कोलगेट’ उपनामले चर्चित थिए र डिफेन्डर तथा मिडफिल्डर दुवै भूमिकामा खेल्न सक्ने बहुमुखी खेलाडी थिए।
उनकै कप्तानीमा ‘भिल्ला’ ले २० वर्षपछि सन् २०२४ मा लिग उपाधि जितेको थियो।
ओओरीको मृत्युको खबरले फुटबल जगत मात्र होइन, राजनीतिज्ञ र सर्वसाधारणलाई पनि स्तब्ध बनाएको छ। युगान्डाको संसदले उनको सम्मानमा एक मिनेट मौनधारण गरेको छ।
युगान्डा फुटबल महासंघले ओओरीलाई मैदान भित्र र बाहिरका एक सच्चा नेता र प्रेरणाको स्रोत भनेको छ।
यो घटनापछि युगान्डामा बढ्दो हिंसात्मक अपराधलाई लिएर मानिसहरूले सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त गरिरहेका छन्। केही हप्ताअघि मात्रै अर्का रग्बी खेलाडी सिड्नी गोङ्गोडियोको पनि यसरी नै हत्या भएको थियो। सर्वसाधारणले कम्पालाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै अपराधीलाई कडा सजाय दिन माग गरेका छन्।
प्रहरीले अहिले दोषीहरूको खोजी भइरहेको र केही प्रमाणहरू संकलन गरिएको जानकारी दिएको छ।








