लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा ४१६ वटा सवारी दुर्घटना भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सार्वजनिक गरेको मासिक विवरण सोमबार सार्वजनिक गर्दै भदौ महिनामा प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी ७६२ जना घाइते भएका छन्। प्रहरीका अनुसार प्रदेशमा हुने सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति र चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउनु देखिएको प्रहरीले जनाएको छ।
यसैगरी बर्दियामा २३, दाङमा १४, गुल्मीमा १२, पाल्पामा १०, रोल्पामा ९, प्युठानमा ५ र अर्घाखाँचीमा ४ वटा दुर्घटना भएका छन्। पूर्वी रुकुममा भने सबैभन्दा कम अर्थात् एउटा मात्रै सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहजंग बुढाथापाका अनुसार भदौ महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ४८७ सवारी तथा चालकलाई कारबाही गरिएको छ।
तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लापरबाही गर्ने, ओभरलोड गर्ने तथा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चलाउनेलगायतका कसुरमा उनीहरूलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना, चालकको जिम्मेवारीपूर्ण व्यवहार तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउने विषयमा नियमित रूपमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्।






