गृहपृष्ठ Featured रुसी तेल खरिदकर्ता देशमाथि सय प्रतिशतसम्म कर लगाउने अमेरिकी विधेयक पारित

रुसी तेल खरिदकर्ता देशमाथि सय प्रतिशतसम्म कर लगाउने अमेरिकी विधेयक पारित

अमेरिकी माथिल्लो सदन (सिनेट) ले रुसबाट तेल तथा ग्यास खरिद गर्ने भारत र चीनसहित पाँच देशका सामानमा सय प्रतिशतसम्म भन्सार महसुल लगाउन सक्ने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक पारित गरेको छ ।

रुस–युक्रेन युद्धका क्रममा रुसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक शुक्रबार सिनेटबाट ८६–११ मतले स्वीकृत भएको हो । यो विधेयक लागू भएमा रुसी कच्चा तेलका प्रमुख क्रेताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा शतप्रतिशतसम्म कर थपिन सक्नेछ ।

तर, विधेयक पारित हुँदैमा यो कर तत्काल लागू हुने छैन; यसले राष्ट्रपति ट्रम्पलाई निर्णय गर्ने तजविजी अधिकार मात्र प्रदान गर्दछ । यसअघि नै अमेरिकाले रुसी तेल खरिद गरेकै कारण भारतीय सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाइसकेको छ, जसका कारण कतिपय भारतीय उत्पादनमा करको दर ५० प्रतिशत पुगेको छ ।

यद्यपि, भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै रुसी तेल आयात कायमै राखेको छ । यसैबीच, अमेरिकी सांसदहरू बीच नै यो कदमले रुसलाई रोक्नुको सट्टा व्यापार युद्ध भड्काउने र भारतसँगको सम्बन्ध बिगार्न सक्ने भन्दै विरोध समेत सुरु भएको छ । सिनेटबाट पास भएको यो विधेयकमाथि यही अगस्ट ३१ मा अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजन्टेटिभ्स) मा छलफल हुनेछ । त्यहाँबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै यो कानुन बन्नेछ ।

सम्बन्धित् समाचार