गृहपृष्ठ Featured प्रधानमन्त्रीले भारतीय र चिनियाँ राजदूत भेट्दै

प्रधानमन्त्रीले भारतीय र चिनियाँ राजदूत भेट्दै

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौंस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन् ।

शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्दै छन् । भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत (चार्ज डी’ अफेयर्स) स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ ।

शाहले दुई साताअघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो । छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्त्व रहेको सन्देश दिन खोजिएको देखिन्छ । समयतालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीतिअनुरूप मिलाइएको छ ।

‘भारतीय राजदूतलाई पहिले र त्यसपछि चिनियाँ राजदूतलाई आउन भनिएको छ । दुवै राजदूतले प्रधानमन्त्रीलाई एकै दिन भेट गर्ने भए पनि समयतालिकाले सरकारको परराष्ट्र नीतिको प्राथमिकतालाई देखाउँछ,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले कान्तिपुरसँग भने, ‘भोलिपल्ट कार्यवाहक अमेरिकी राजदूतलाई भेट्ने कार्यक्रम छ, अमेरिका नेपालको अर्को महत्त्वपूर्ण मित्र र विकास साझेदार हो ।’

सम्बन्धित् समाचार