रोल्पा — निरन्तरको वर्षासँगै आएको पहिरोले रोल्पामा फेरि मानवीय क्षति पुर्याएको छ । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शुक्रबार राति पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ । घरभित्र सुतिरहेको अवस्थामा निरन्तर वर्षापछि खसेको पहिरोले घर पुरेपछि उनी च्यापिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रातभर परेको अविरल वर्षाका कारण शनिबार बिहान करिब ३ बजे पहिरो खसेको र घर पुरेको सूचना प्रहरी चौकी किलाचौरमा पुगेको थियो । प्रहरी टोली घटनास्थलमा पुग्दा पुरिएको अवस्थामा वृद्ध गुरुङको टाउकोको भाग मात्रै देखिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा उनको उद्धार भएको छ।
यस्तै, शनिबार बिहानै सुनिलस्मृति गाउँपालिका–६ आमडाँडामा पहिरोले एक स्थानीयको घरको एकापट्टिको भित्ता भत्काएको छ । स्थानीय गौतम थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरीले जनाएको छ ।
रोल्पामा पछिल्लो एक सातादेखि निरन्तर वर्षा भइरहेको छ । वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरो, बाढी र चट्याङका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार एक साताको अवधिमा पहिरो र चट्याङका घटनामा १९ जनाको मृत्यु भइसकेको छ ।







