गृहपृष्ठ खबर हिजो राजतन्त्र मुख्य शत्रु थियो, आज रास्वपा- झलनाथ खनाल

हिजो राजतन्त्र मुख्य शत्रु थियो, आज रास्वपा- झलनाथ खनाल

पाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताएका छन्।

पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा पुँजीपति वर्गको मात्रै प्रतिनिधि भएकाले रास्वपा नेकपाको मुख्य प्रतिद्वन्द्वी रहेको बताएका हुन्।

‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु नै भन्थ्यौं। अब अहिले यो संसदीय व्यवस्था छ। संसदीय व्यवस्था भएको हुनाले हामीले मुख्य शत्रु भन्नुभन्दा पनि मुख्य प्रतिद्वन्द्वी भन्छौं, हिजो नेपाली कांग्रेस थियो एकबेलामा,’ उनले भने।

नेता खनालले रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाए।

‘उसले व्यापक दमन–मर्दन सुरु गरेको छ। उसले लिएको नीति कार्यक्रम तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन। सबै माथिल्लो वर्गको हितमा छ। बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ,’ उनले भने।

नेता खनालले अगाडि भने, ‘यी कर भारहरु हेर्नुस्, यति धेरै कर भारहरु अहिले जनतामाथि थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ। त्यसो हुनाले यतिबेलाको अवस्थामा वर्गीय रुपले यो मुख्य प्रतिद्वन्द्वी शक्तिको रुपमा चाहिँ हाम्रासामु आएको छ।’

त्यसकारण सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने र नयाँ ढंगले समाजवादी क्रान्ति र रूपान्तरणको आन्दोलन अगाडि बढाउनुपर्ने उनले बताए। विगतका कमी कमजोरी सच्याएर अगाडि बढेमा कम्युनिस्ट पार्टीले सफलता हासिल गर्ने उनको भनाइ छ।

न्युज एजेन्सी नेपाल

सम्बन्धित् समाचार