गृहपृष्ठ अन्तरास्ट्रिय खबर एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले आइतबार पहिलोपटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्रसमेत जोखिममा पर्न सक्छन्।

राज्य सुरक्षा मन्त्री चेन यीशिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरुपयोग गरिरहेको बताएका छन्।

उनका अनुसार डीपफेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्बिर र ‘इन्टेलिजेन्ट ट्रोल आर्मी’ प्रयोग गरी राजनीतिक अफवाह फैलाउने, हानिकारक सूचना प्रसार गर्ने तथा विभाजनकारी भावना भड्काउने काम ठूलो परिमाणमा र कम खर्चमा गर्न सकिन्छ।

यस्ता गतिविधिले चीनमाथि जनमत तथा धारणाको स्तरमा ‘कग्निटिभ वारफेयर’ अर्थात् मानसिक तथा धारणा बनाउने युद्ध सञ्चालन गर्ने खतरा रहेको चेनले बताएका छन्।

यसबाट चीनको राजनीतिक सुरक्षा, संस्थागत सुरक्षा र वैचारिक सुरक्षामा प्रत्यक्ष खतरा उत्पन्न हुने उनको भनाइ छ।

एआई सुरक्षाबारे चीनको चिन्ता बढ्दै

चीनमा एआई सुरक्षाबारे हुने सार्वजनिक बहस यसअघि मुख्यतः साइबरस्पेस प्रशासन र अन्य नियामक निकायमा केन्द्रित थियो। ती बहसमा एआईसम्बन्धी नियमन र प्राविधिक जोखिमलाई बढी प्राथमिकता दिइँदै आएको थियो।

 

राज्य सुरक्षा मन्त्रालयको पछिल्लो वक्तव्यले भने एआईलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्ने चीनको दृष्टिकोण थप स्पष्ट पारेको छ।

अमेरिकी प्रविधि क्षेत्रका नेताहरूले पनि पछिल्लो समय अत्याधुनिक एआईको तीव्र विकासप्रति चिन्ता व्यक्त गर्दै आएका छन्।

केही अनुसन्धानकर्ताले एआईबाट अत्यन्त गम्भीर परिणाम, मानव अस्तित्वमै खतरा उत्पन्न हुन सक्ने सम्भावनासम्म औंल्याएका छन्।

तर चिनियाँ राज्य सुरक्षा मन्त्रालयको वक्तव्यमा एआईले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनी दिइएको छैन।

साथै चिनियाँ कम्पनीहरूलाई एआई विकासको गति घटाउन पनि आह्वान गरिएको छैन।

सम्बन्धित् समाचार