गृहपृष्ठ Featured नेपालका रोहितसहित युएईका दुई खेलाडीलाई आइसिसीको कारबाही

नेपालका रोहितसहित युएईका दुई खेलाडीलाई आइसिसीको कारबाही

क्वालालम्पुरमा शनिबार सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनल खेल दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आचारसंहिता लेभल १ उल्लंघन गरेकोमा संयुक्त अरब इमिरेट्स (युएई) का खेलाडीहरू अदीब उस्मानी र खुजैमा तनवीर तथा नेपालका रोहित पौडेल जरिवानामा परेका छन्।

अदीब र पौडेल दुवैलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। उनीहरूले खेलाडी तथा खेलाडी सहयोगी टोलीका लागि आइसिसी आचारसंहिताको धारा २.४ (अन्तर्राष्ट्रिय म्याचको क्रममा अम्पायरको निर्देशन नमान्नु) उल्लंघन गरेको पाइएको थियो।

यो घटना नेपालको इनिङ्सको ३१ औँ ओभरमा घटेको थियो, जहाँ स्थिति साम्य पार्न खोजिरहेका अम्पायरहरूको निर्देशन पालना नगरी अदीब र पौडेलबीच भनाभन भएको थियो।

अर्कोतर्फ, खुजैमालाई फरक घटनाका लागि म्याच फीको १० प्रतिशत जरिवाना गरिएको छ। उनले आइसिसी आचारसंहिताको धारा २.२ (अन्तर्राष्ट्रिय म्याचका क्रममा क्रिकेट सामग्री, कपडा वा मैदानका संरचनाको दुरुपयोग गर्नु) उल्लंघन गरेको ठहर गरिएको हो।

यो घटना युएईको इनिङ्सको ४६ औँ ओभरमा घटेको थियो, जहाँ आउट भएपछि खुजैमाले आफ्नो ब्याटले स्टम्पमा हानेका थिए।

यसका साथै, तीनै खेलाडीको अनुशासन रेकर्डमा एक-एक डिमेरिट अंक थपिएको छ। पछिल्लो २४ महिनाको अवधिमा उनीहरू कसैको पनि यो पहिलो अनुशासन उल्लंघन हो।

तीनै जना खेलाडीहरूले आफ्नो गल्ती स्वीकार गर्दै अमिरात आइसिसी इन्टरनेसनल प्यानल अफ म्याच रेफ्रीका अलि नक्वीद्वारा प्रस्तावित सजाय स्वीकार गरेकाले औपचारिक सुनुवाइको आवश्यकता परेन।

मैदानका अम्पायरहरू कालिदास विश्वनाथन र तबारुक दार तथा रिजर्भ अम्पायर विनोद बाबुले उनीहरूमाथि यो आरोप दर्ता गराएका थिए।

 

आइसिसीको लेभल १ उल्लंघनमा न्यूनतम आधिकारिक चेतावनी, बढीमा म्याच फीको ५० प्रतिशत जरिवाना र एक वा दुई डिमेरिट अंक दिइन्छ। २४ महिनाको अवधिमा चार वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा ती अंकहरू निलम्बन अंमा परिणत हुन्छन् र खेलाडी प्रतिबन्धमा पर्छन्।

दुई निलम्बन अंक बराबर एक टेस्ट वा दुई एकदिवसीय वा दुई टी-२० म्याचको प्रतिबन्ध हुन्छ। डिमेरिट अंक कायम भएको मितिदेखि २४ महिनासम्म अनुशासन रेकर्डमा रहन्छ र त्यसपछि स्वत: हट्छ।

सम्बन्धित् समाचार