यमनका हुथी विद्रोहीले साउदी अरबको एफ-१५ लडाकु विमान स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालेको दाबी गरेका छन्।
हुथीका सैन्य प्रवक्ता याह्या सारीले बुधबार मारिब प्रान्तको हवाई क्षेत्रमा सैन्य कारबाहीका क्रममा विमान खसालिएको बताए।
प्रवक्ता सारीले सामाजिक सञ्जालमार्फत यमनी सशस्त्र बलले विमान खसाल्न सफल भएको दाबी गर्दै साउदी अरबले यमनमा ४५० वटा आक्रमण गरेको आरोप लगाए।
उनले हुथीका कारबाही साउदीका तेल केन्द्र र सैन्य आधारमा केन्द्रित रहेको तथा मक्कालगायत पवित्र स्थललाई निसाना नबनाइएको बताए।
यमनमा जुलाईदेखि हुथी र साउदी समर्थित सरकारी फौजबीच पुनः लडाइँ चर्किएको छ।
हुथीले साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै लाल सागरमा साउदी जहाजलाई निसाना बनाउने चेतावनी दिएको छ।
उसले यमनको लाल सागर तट र बाब अल-मन्दब जलघाँटीमा आफ्नो नियन्त्रण रहेको दाबीसमेत गरेको छ।
साउदी पक्षले हुथीको लडाकू विमान खसालेको दाबीबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।







