काठमाडौँ — चर्चित अमेरिकी युट्युबर तथा इन्फ्लुएन्सर ‘मिस्टर बिस्ट’ ले नेपालका बाढी पीडितको सहयोगका लागि राहत संकलनको अपिल गरेका छन् । उनले इन्स्टाग्राममार्फत् रकम उठाउन सहयोगको आह्वान गरेका हुन् । हालसम्म १० लाख अमेरिकी डलर संकलन भएको जनाएका छन् ।
केही साताअघि नेपालमा भिडियो छायांकन गर्ने तालिका रहे पनि बाढीका कारण उनले सुटिङ रद्द गरेको बताएका छन् । नेपालको स्थितिबारे बोल्दै उनले भनेका छन्, ‘नेपलामा भिडियो खिच्ने हाम्रो योजना थियो तर त्यहाँ जे भयो, त्यसपछि हामीले भिडियो बनाउने योजना रद्द गर्नु पर्यो।’
नेपाल आउने कार्यक्रम रद्द गरेपछि मिस्टर बिस्टले विभिन्न ब्रान्डसँग मिलेर राहत जुटाउने सक्रिय बनेको बताएका छन् । घर गुमाएका तथा पिउने पानी र खानाको अभाव झेलिरहेका पीडितलाई सहयोग गर्न पीएनजीलगायत ब्रान्डमार्फत गैरसरकारी संस्था ‘केयर नेपाल’ सँग सहकार्य गरिएको उनले बताएका छन् ।
‘हामीले १० लाख डलरभन्दा धेरै चन्दा उठाउन पहल गरिरहेका छौँ,’ उनले भनेका छन्, ‘कतिपय बाढी पिडितहरूको घर बगेको छ, पिउने पानी र खाना छैन ।’ उनले हालसम्म १० लाख डलर संकलन भइसकेको र सो रकमलाई अझ बढाउन खोजिरहेको उल्लेख गरेका छन् । संकलित रकमको शतप्रतिशत हिस्सा सिधै विपद् प्रभावित मानिसहरूका हातमा पुग्ने उनले बताएका छन् ।
यसअघि पनि मिस्टर बिस्टको संस्था ‘बिस्ट फिलान्थ्रोपी’ ले नेपालमा विभिन्न सामाजिक कार्यमा लगानी गरेक थियो । सन् २०२४ मा उनको टोलीले सिन्धुलीको फिकल गाउँपालिकास्थित अस्पतालमा सोलार प्यानल र ब्याट्री जडान गरी विद्युत् सेवा पुर्याएको थियो ।
त्यस्तै, सन् २०२५ को जुलाईमा उनी नेपाल आएर वाटरएडको सहकार्यमा गोदावरी नगरपालिकाका क्षेत्रमा पिउने पानीको व्यवस्थापनमा सहभागी भएका थिए ।







