गृहपृष्ठ Featured विवाहको भोजबाट फर्किएको जिप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

विवाहको भोजबाट फर्किएको जिप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

विवाहको भोज खाएर फर्किने क्रममा जिप दुर्घटना हुँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

भिरकोट नगरपालिका–१, करुङस्थित बयरघारी–केघा भित्री सडकखण्डमा बिहीबार साँझ करिब ५ बजे ग.१ज. ७६१० नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार भिरकोट–३, बजादीमा विवाहको भोज खाएर बयरघारीतर्फ आउँदै गरेको जिप घुम्तीमा मोडिने क्रममा दुर्घटनामा परेको हो। जिपको स्टेरिङ लक भएर मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी तेह्रथुमबाट प्रहरी निरीक्षक सुशील घिमिरेको कमान्डमा खटिएको १० जनाको प्रहरी टोलीले स्थानीयको सहयोगमा चालकसहित ११ जना घाइतेको उद्धार गरी भिरकोट नगर अस्पताल पुर्‍याएको थियो।

उपचारका क्रममा पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तमसिंह गुरुङलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङ, बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ र भिरकोट–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

नवलपरासी घर भई हाल भिरकोट–२ बस्दै आएकी ४३ वर्षीया रसमाया गुरुङको अवस्था भने सामान्य रहेको छ। दुर्घटनापछि प्रहरीले जिपचालक भिरकोट–२ का ५० वर्षीय खेमप्रसाद गुरुङलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार